चैत ११, सुर्खेत । वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका घरको सटर तथा कोठा भाडा मनपरी तोकिने गरिएको छ । भाडादरको निर्धारण र नियमन गर्ने निकायको निगरानी नहुँदा घरधनीले मनोमानी रुपमा सटर तथा कोठाको भाडा तोक्ने गरेका छन् ।
निगरानी गर्ने निकाय सिथिल हुँदा घरेबेटीले मनोमानी भाडा तोकिदिएपछि भाडामा बस्नेहरु मर्कामा परेका छन् । वीरेन्द्रनगरको व्यापारीक क्षेत्र मानिएको बुद्धपथ, नयाँ सडक, हटियालाइन गणेश चौक, जुम्ला रोड, लल्लो बजार लगायतका स्थानमा रहेका व्यवसायिक प्रयोजनका सटरका लागि निम्नतम ६ हजारदेखि ३५ हजारसम्म भाडा तोक्ने गरिएको छ । व्यवसायीसँग चर्को भाडा असुल्ने घरधनीले नगरपालिकालाई तिर्नु पर्ने बहाल कर समेत छल्ने गरेको भेटिएको छ ।
नगरपालिकाले सम्झौता पत्रमा उल्लेख गरे अनुरुप बाहाल कर लिने गरेकोले घर मालिकले कर छल्न सम्झौता पत्रमा भाडाको रकम पूरै नखुलाउने गरेको बुझिएको छ । नगर क्षेत्रमा व्यापारीक प्रयोजनका घर भाडामा दिएका धेरैजसो घरमालिकले त अहिलेसम्म कर तिर्न नै नआएको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकामा कर बुझाउन आउने पनि धेरै रकम खुलाए धेरै कर तिर्नु पर्ने भएकोले सम्झौता पत्रमा आफूले लिने भाडाको न्यूनतम रकम उल्लेखगरी आउने गरेको पाईएको छ ।
मासिक तथा वार्षिकरुपमा बजारमा महंगी बढेको भन्दै बिना सुविधा एकोहोरो रुपमा घरधनीले भाडा दर बढाइरहेकोले आफूहरु समस्यामा परेको व्यवसायीहरुले गुनासो गरेका छन् । नगरपालिकाले वार्षिक कर दायरा केही फराकिलो बनाएपनि नगरपालिकालाई तिर्नुपर्ने १० प्रतिशत बहाल कर छली गर्नेलाई निगरानीमा राख्न सकेको छैन ।
वीनपाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले वीनपा क्षेत्रमा घरभाडा निर्धारण गर्नका छिट्टै सबै वडाहरुमा लागू छफलफ गरी कडाईले घरबहाल कर लागू गरिने बताए । उनले घरभाडा लगाउने मूल्य एउटा र कर तिर्ने अर्कै फरक देखाउनेलाई कानूनी दायराभित्र ल्याउन नपाले विशेष योजनासहित अघि बढ्न लागेको जानकारी दिए । हाल केही संस्था र सरकारी कार्यालयहरुले मात्रै नगरपालिकालाई नियमित बहाल कर बुझाउँदै आएको पाईएको छ ।
नगर क्षेत्रमा कसले, कसलाई कतिमा घरभाडा दिएको छ भन्ने थाहा नहुने भएकोले यसलाई बहाल कर छली रोक्न समस्या भईरहेको छ । ‘आन्तरिक राजस्व विभाग र नगरपालिका दुवैतिरबाट कर उठाउने भएकोले अझै समस्या थपिएको छ,’ वीनपाका एक कर्मचारीले भने, ‘आन्तरिक राजस्व विभागमा त कर छलेका छन् । दुवै तिरबाट कर उठाउने भएकोले अझै समस्या भयो ।’ नगर भित्रका घर तथा व्यवसायमाथि करको लागि कडाई गरेपछि नगरपालिकाको काम, कर्तव्यमा प्रश्न गर्ने गरेको र नगरपालिकाले नगरवासीलाई सेवा सुविधा प्रदान गर्न नसकेकाले पनि कर असुली प्रभावकारी नभएको घरमालिकहरु बताउँछन् ।
नगरपालिकाको कमजोरी र घरधनीको मनोमानीले गर्दा उच्च शिक्षाका लागि वर्षेनी शहर आउने ठूलो संख्याका विद्यार्थी जमातलाई प्रत्यक्ष प्रभावित पार्ने गरेको छ । नगरमा एउटा कोठाको २ हजारदेखि पाँच हजारसम्म भाडा तोकिएको छ । घरबेटीको हेपाहा प्रवृति र भाडामा बस्नेले भाडा तिरेको भन्दै घरप्रति गैरजिम्मेवार बनिदिनाले भाडामा बस्ने र घरबेटीको प्रायः झगडा भइरहने घटनाहरु समेत बेलाबेलामा आउने गरेका छन् ।