ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक वर्षदेखि तेजपत्ता गोदाममै

२०७७ चैत, १५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । कोरोना संक्रमणका कारण घोषणा गरिएको लकडाउनले हरेक क्षेत्र प्रभावित बनायो । व्यापार व्यवसाय समेत ठप्प बने । व्यापार व्यवसाय ठप्प हुँदा कृषकहरूले उत्पादन गरेको कृषि सामग्री समेत भारत निर्यात नहुँदा कृषि उत्पादनहरू त्यसै खेर गए ।

लकडाउनको प्रभावले सुनसरीको धरानस्थित कृषिउपज बजारमा एक वर्षयता तेजपत्ताको कारोबार नै ठप्प भएको छ । लकडाउन खुला भए पनि अझै भारतीय व्यापारी तेजपत्ता खरीदका लागि नआउँदा कारोबार ठप्प बनेको कृषि उपज बजारले बताएको छ ।

मसलाजन्य वस्तुमा प्रयोग हुने तेजपत्ताको कारोबार धरानको कृषि उपज बजार स्थलमा करीब एक वर्षयता थन्किएको छ । पूर्वी पहाडी जिल्लाको कृषकहरूको भरपर्दो आम्दानीको स्रोत रहेको तेजपत्ता विक्री नहुँदा सबैभन्दा बढी मारमा कृषक तथा व्यापारी परेका छन् । धनकुटाकी थिरमाया लिम्बुले यस वर्ष वर्ष तेजपत्ता विक्री नभएको बताइन् । विक्रीका लागि धरानस्थित कृषि बजारमा ल्याएर थन्क्याउनुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘विक्री हुन्छ कि भनेर कृषि बजार ल्यायो, विक्री हँुदैन, बेकारमा ढुवानी खर्च मात्र तिर्नुपर्छ,’ उनले भने । उनीजस्तै सयौं कृषकले विक्री नभएर तेजपत्ता फाल्नुपर्ने अवस्था आएको छ ।

तेजपत्ताको मुख्य बजार भारत भएको कृषि बजारले बताएको छ । तर, लकडाउनयता भारतीय व्यापारीहरू तेजपत्ता खरीदका लागि नआइदिँदा कारोबार नभएको कृषि बजारका तेजपत्ता व्यापारी विनोद कुलुङ बताउँछन् । ‘गतवर्ष प्रतिभारी १ हजारमा खरीद भएको तेजपत्ता अहिले प्रतिभारी ५०० रुपैयाँ मात्र छ,’ उनले भने, ‘हामीले पनि भारतीय व्यापारी आउँछन् र विक्री गरौं भन्ने आशाले लिएका हौं । तर खरिद गरेको तेजपत्ता अहिले पनि जस्ताको तस्तै छ ।’ कृषकले दुःख गरेर ल्याएको तेजपत्ता विक्री नहुँदा बाध्य भएर कृषि बजारमा थन्क्याउनु पर्ने अवस्था आएको उनले बताए ।

कृषि उपज बजारका अनुसार ९५ प्रतिशत तेजपत्ता छिमेकी मुलुक भारतमा निर्यात हुने गरेको छ । कृषि बजारमा वार्षिक करीब ५ हजार मेट्रिकटन अर्थात् १ करोड रुपैयाँबराबरको तेजपत्ताको कारोबार हुने गरे पनि यस वर्ष नभएको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । ‘कृषकले कृषि बजारसम्म तेजपत्ता ल्याउँछन्, भारत निकासी नहुने भएपछि व्यापारीले पनि लिँदैनन्, त्यसै थन्क्याएर उनीहरू फर्कन्छन्,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)