ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बसपार्क बन्ने आशा पलायो

२०७७ चैत, १६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । लामो समयदेखि विवादित रहेको धरानको बसपार्क निर्माण हुने प्रक्रिया अघि बढेको छ । बसपार्क निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढेपछि बसपार्क चाँडै निर्माण हुनेमा स्थानीयको आशा पलाएको छ ।

प्रदेश सरकारले बजेट विनियोजन गरिदिएपछि डीपीआर समेत बनिसकेको बसपार्क निर्माणको टेन्डर आह्वान भइसकेकोले बसपार्क बन्ने निश्चित भएको हो । उपमहानगरपालिकाले एक साताअघि टेन्डर आह्वान गरेको छ ।

टेण्डर आह्वानको अवधि डेढ महीना रहेको उपमहानगरपालिकाका योजना प्रमुख सुरज श्रेष्ठले बताए । त्यसपछि ठेक्का प्रक्रिया अगाडि बढ्ने र निर्माणले गति लिने उनको भनाइ छ । ‘टेन्डर आह्वान भइसकेको छ । यो आर्थिक वर्षको अन्त्यसम्ममा ठेक्का प्रक्रियाको टुंगो लागेर काम शुरू हुन्छ ।’ तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको उनले बताए ।

यसअघि बनाइएको डीपीआर अनुसारको लागत इस्टिमेट ठूलो भएकाले रोकिएको थियो । पुनः छलफल गरेर नयाँ डीपीआर तयार गरेको थियो । अहिले लागत इस्टिमेट घटाएर डीपीआर तयार भइसकेपछि टेण्डर प्रक्रिया पनि अगाडि बढेकाले बस पार्क बन्ने सम्भावना बढेको उनी बताउँछन् । ‘विगतमा ४३ करोड बजेटको डीपीआर बनेको थियो अहिले त्यसलाई घटाएर ३० करोडको बनाइएको छ,’ उनले भने  ।

करिब २० वर्षअघि धरानको बसपार्क साँघुरो भएको भन्दै धरान उपमहानगरपालिकाले धरान–८ सुन्दरबस्तीमा बसपार्क बनाउने योजना ल्याएको थियो । बसपार्कका लागि सर्वसाधारणको ३८ कट्ठा जग्गा उपमहानगरपालिकाको स्वामित्वमा समेत ल्याएको थियोे । नगरपालिकाले व्यक्तिको नामको जग्गा नगरपालिकाको स्वामित्वमा ल्याएपछि विवाद शुरू भएको थियो । उपमहानगरको स्वामित्वमा आएको जग्गा कर्मचारीले खरीदविक्री गर्न थालेपछि स्थानीयले विरोध गर्न थालेका थिए । २०७६ माघ २७ गते बसपार्कको शिलान्यास हुँदा पनि स्थानीय जग्गावालाले विरोध व्यक्त गरेका थिए ।

धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले उपनिर्वाचनबाट निर्वाचित भएर आएपछि आफ्नो पहिलो उद्देश्य नै अधुरा रहेका विकास योजनालाई पूरा गर्ने अठोट लिएको बताए । ‘सोही अनुरूप धरानको बसपार्क पहिलो प्राथमिकतामा राखेर डीपीआर समेत तयार गरी टेण्डर प्रक्रियामा गइसकेको छ,’ उनले भने । बजेट समेत विनियोजन भइसकेकाले अब चाँडै सुन्दरबस्तीमा बसपार्क बन्ने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)