ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानमा मौरीपालन : मौरी घार बढे पनि मह उत्पादन घट्यो

२०७७ चैत, १६  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा बर्सेनि मह उत्पादन घट्दै गएको छ । विगत वर्षको तुलनामा अहिले क्रमिक रूपमा मह उत्पादन घट्दै गएको कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको हो ।

कम लगानीबाट पनि धेरै आम्दानी हुने भएपछि मौरीपालनतर्फ हौसिएका जिल्लाका किसानहरू बर्सेनि मह उत्पादन घटेपछि चिन्तित बन्न थालेका छन् ।

आर्थिक वर्ष ०७५/७६ मा जिल्लाभर १ हजार ५ सय ३० घार मौरी थिए, जसबाट १९ मेट्रिक टन मह उत्पादन भएको थियो ।

यस्तै, आर्थिक वर्ष ०७६/७७ मा मौरी घारको संख्या बढेर २ हजार १ सय ३० पुगे पनि मह उत्पादन घटेर १० दशमलव ५ मेट्रिक टन भएको छ । आर्थिक वर्ष ०७७÷७८ को हालसम्म कात्तिके महको उत्पादनमा झन्डै ३० प्रतिशतले कमी आएको छ ।

जिल्लाको कालीमाटी, कुमाख, त्रिवेणी र कपुरकोट गाउँपालिकाका केही किसानले मौरीपालन गर्दै आएका छन् । जिल्लामा बर्सेनि मौरीपालनमा लगानी बढाइँदै गए पनि मह उत्पादनमा कमी आएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए । विगत वर्षको तुलनामा मह उत्पादनमा ह्रास आइरहेको उनले बताए । ‘सल्यान मौरीपालनका लागि सम्भावनायुक्त क्षेत्र हो । तर, विगतका वर्षको तुलनामा यो वर्ष मह उत्पादन घटेको छ,’ उनले भने ।

मौसमी परिवर्तनका कारण मह उत्पादन कम भएको हुन सक्ने आचार्यको अनुमान छ । कालीमाटी क्षेत्रमा झुसिल किराको प्रकोप देखिनु, मौरीको चरन क्षेत्र नबढ्नु तथा सुक्खायामका कारण फूल नफुल्नु र फुलेका फूल पनि बेलैमा सुकेर जाँदा मह उत्पादनमा कमी आएको हुन सक्ने उनको बुझाइ छ ।

मौरीपालनमा सरकारी लगानी धेरै
जिल्लामा मौरीपालन हुने क्षेत्रमा सरकारी लगानी बढ्दै गएको छ । मौरी घारदेखि आवश्यक औजार उपकरणमा समेत सरकारी क्षेत्रको लगानी बढ्दै गएको पाइन्छ ।

गत वर्ष मात्रै कालीमाटी गाउँपालिका– १, २, ३ र ४ मा मौरी ब्लक तथा कुमाख गाउँपालिकाको वडा–३ मा मौरी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ ।

कार्यालय प्रमुख आचार्यले मौरीपालनलाई व्यावसायिक बनाउन बर्सेनि लगानी बढाउँदै गएको बताए । किसानलाई आवश्यक परामर्श, मौरीको गोला, घार, मह निकाल्ने उपकरणसहित चरन क्षेत्र वृद्धिका लागि बेमौसमी फूलका बिरुवासमेत उपलब्ध गराइएको उनले जानकारी दिए ।

मौरीपालकको गुनासो : उत्पादन नभएपछि विस्थापित
जिल्लामा बर्सेनि वर्ष मह उत्पादन घट्न थालेपछि किसान चिन्तित बनेका छन् । कालीमाटी गाउँपालिका–२ झिँगानेका नेत्रलाल वलीले विगतमा मौरीको मह बिक्रीबाट मात्रै ५

लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका थिए । तर, अहिले झन्डै २ लाखमा चित्त बुझाउनु परेको उनको गुनासो छ ।

अर्का किसान चेतबहादुर वलीले श्रमअनुसारको उत्पादन नहुँदा समस्या भएको बताए । मौरीपालनबाटै जीवनयापन गर्दै आएका उनले मौरी घार बढाए पनि उत्पादन वृद्धि नहुँदा समस्या जानकारी दिए ।

बर्सेनि मह उत्पादन घट्दै जाने हो भने कुनै दिन मौरीपालन व्यवसायबाटै विस्थापित हुनुपर्ने सम्भावना बढेको किसानको गुनासो छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)