डोटी । डोटीमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान शुरू भएको छ । गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा यहाँका ९ ओटै स्थानीय तहका सबै नागरिकलाई सेवा दिन शुरू गरिएको हो । पहिलो पटक दिपायल सिलगढी नगरपालिकाबाट शुरू गरिएको अभियान अहिले बोगटान फुड्सिल गाउँपालिकाका सबै वडाहरूमा शुरू भएको छ ।
बोगटान फुड्सिल गाउँपालिकाका सबै वडा कार्यालयबाट अभियानकै रूपमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शुरू गरिएको गाउँपालिका उपाध्यक्ष भगवती बमले जानकारी दिइन् । उक्त अभियानको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिला र उपाध्यक्ष भगवती बमले संयुक्त रूपमा उद्घाटन गरे । सबै वडामा राष्ट्रिय परिचयपत्र वितरण अभियान शुरू भएपछि स्थानीयवासी उत्साहित भएका छन् । जिल्लाका अन्य सात स्थानीय तहमा पनि केही दिनभित्रै अभियान शुरू गरिने जिप्रकाले बताएको छ । रासस