ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खाद्यान्न अभाव टार्न हवाई जहाजमार्फत ढुवानी

७ हजार क्वीन्टल खाद्यान्न स्वीकृत

२०७७ चैत, ३०  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar आकाश तारा बयक

सुर्खेत । सरकारले दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन हवाई जहाजमार्फत ढुवानी व्यवस्था मिलाएको छ । विशेषगरी कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी एवं हिमाली जिल्लामा स्थानीय उत्पादनले नधान्ने भएपछि सरकारले अनुदानको खाद्यान्न ढुवानीलाई प्राथमिकता दिएको हो ।

सरकारले सुर्खेतबाट हुम्ला, डोल्पा, बाजुरा लगायत जिल्लामा हवाई जहाजबाट नियमित खाद्यान्न ढुवानीको व्यवस्था मिलाएको छ । जेठमा पाक्ने गहुँ बाली यस वर्ष चर्को खडेरीका कारण अपेक्षाकृत रूपमा नफल्ने देखिएपछि सरकारले माग अनुसारको खाद्यान्न आपूर्तिमा जोड दिएको छ । पहिलो चरणमा हुम्लाका लागि ७ हजार क्वीन्टल चामलको कोटा स्वीकृत गरिएको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले बताएको छ ।

चालू आर्थिक वर्षका लागि जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरे बमोजिम उक्त परिणामको चामल सरकारले स्वीकृत गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्ला शाखाले गत फागुन २६ गते आफ्नो केन्द्रीय कार्यालयमा १४ हजार क्वीन्टल माग गरे पनि हाल ७ हजार क्वीन्टल चामल पहिलो चरणमा स्वीकृत भएको छ ।

‘कम्पनीको सिमकोट केन्द्रका लागि १४ हजार क्वीन्टल माग गरे पनि चैत २६ गते केन्द्रको परिपत्र अनुसार ७ हजार क्वीन्टल चामल स्वीकृत भएको छ,’ कम्पनीको हुम्ला शाखाका नायव सुब्बा भरत अधिकारीले भने, ‘यद्यपि विगतका वर्षको तुलनामा यस वर्ष पहिलो चरणमै धेरै खाद्यान्न स्वीकृत भएको हो ।’ स्वीकृत कोटा परिमाणको चामल कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतबाट ढुवानी हुने जानकारी उनले दिए । उनका अनुसार स्वीकृत भएको चामल विमानबाट छिट्टै ढुवानी हुनेछ ।

निजीक्षेत्रको हवाई सेवा प्रदायक कम्पनी सीता एयरले सुर्खेतबाट हुम्ला खाद्यान्न ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग सहमति भइसकेको बताएको छ । सीता एयरका सिमकोट स्टेशनका सहायक इन्चार्ज सूर्य लामाले केही दिनमै नियमित खाद्यान्न ढुवानी गर्ने तयारी भइरहेको जानकारी दिए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)