मान्म । कालीकोटवासी झण्डै १ वर्षदेखि विद्युत्को प्रतीक्षामा छन् । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा रहेको सान्तीघाट साना जलविद्युत् आयोजना अवरोध भएको १० महीना बितिसक्दा समेत मर्मत नहुँदा कालीकोटवासीको दिनचर्या कष्टकर बनेको छ ।
सान्तीघाट जलविद्युत् आयोजना हालसम्म नबन्दा जिल्ला सदरमुकाममा हाल जेनेरेटरको माध्यमबाट दैनिक २ घण्टा बत्ती दिने गरिएको छ । कालीकोटवासीलाई भने जलविद्युत् आयोजना कहिले बन्ला र विद्युत् कहिले आउला भन्ने पिरलो छ । यसको मर्मत हुने कुनै आधार नभएकाले विद्युत्का पोल र तारका लाइन हेरेर चित्त बुझाउने अवस्था आएको खाँडाचक्र नगरपालिका–१ का स्थानीयवासी प्रेमबहादुर शाहीले बताए । विद्युत् नियमित नहुँदा दैनिक कामकाजमा असर पर्ने गरेको उनको भनाइ छ ।
कालीकोटका सान्तीघाट जलविद्युत् आयोजना र राष्ट्रिय प्रसारण लाइनका विद्युत्का पोल र लाइन गाउँमा आए पनि बत्ती कहिले आउला भनेर बाटो हेरेर बसेको रास्कोट नगरपालिका–६ का विक्रमबहादुर शाहीले बताए ।
राष्ट्रिय प्रसारण लाइनको बिजुली ल्याउने गरी काम भइरहेको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले बताएको छ ।
गाउँमा लाइन विस्तार गरेर तयार पार्ने र राष्ट्रिय प्रसारण लाइन आउनेबित्तिकै गाउँमा बत्ती दिने कार्यालयको योजना रहेको वितरण केन्द्रका प्राविधिक शिवचन्द्र चौलागाईँले बताए । ‘पहिला गाउँगाउँमा विद्युत्का पोल र तार तान्ने काम भइरहेको छ,’ उनले भने, ‘त्यो काम चाँडै सम्पन्न हुन्छ, राष्ट्रिय प्रसारण लाइन जोड्ने काम हुनेछ ।’
आर्थिक सर्वेक्षण, २०७५ अनुसार कर्णालीका ७३ प्रतिशत जनता विद्युत् पहुँचभन्दा टाढा छन् । कर्णालीका ७९ ओटा स्थानीय तहमध्ये हुम्ला, जुम्ला, कालीकोट, डोल्पा र मुगुका ४३ स्थानीय तहमा अझै विद्युत्को पहुँच पुग्न सकेको छैनन् । कर्णालीका १७ लाख ७० हजार नागरिकमध्ये अझै ७३ प्रतिशत विद्युत्को पहुँचबाहिर छन् । रासस