ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खानेपानीको समस्या समाधानका लागि स्थानीयको धर्ना

२०७७ चैत, ३०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । धरानमा खानेपानीको अभाव बढ्न थालेपछि समाधानका लागि स्थानीयवासीले दैनिकजसो धर्ना दिइरहेका छन् । सुक्खा मौसम शुरू भएसँगै खानेपानी अभाव हुन थालेपछि ‘दीर्घकालीन खानेपानी व्यवस्थापन संघर्ष समिति’ले एक सातादेखि धरान खानेपानी व्यवस्थापन बोर्डको बिल काउण्टरमा ताला लगाएर धर्ना दिन थालेको हो ।

संघर्ष समितिले काउण्टर नै बन्द गराएपछि उपभोक्ताले महशुल बुझाउन पाएका छैनन्, जसले गर्दा बोर्डको आम्दानी गुमिरहेको छ ।   संघर्ष समितिका संयोजक हर्क साम्पाङले अन्य महशुल केन्द्रहरू पनि बन्द गराएर धर्ना दिइने बताए । वैशाख १ गतेसम्म माग सम्बोधन नभए २ गते मेयर तिलक राईको घर घेराउ गर्ने चेतावनी उनले दिए । ‘अहिलेको धरानको नेतृत्वले जनताको आवाज सुनेन, माग सम्बोधन भएन । त्यसैले अरू बिल काउन्टर पनि बन्द गराउँछौं,’ उनले भने, ‘वैशाख १ गतेसम्म माग सम्बोधन नभए २ गते मेयरको घर घेर्छौं ।’

संघर्ष समितिले धरानका सबै नागरिकको घरमा पानी पुर्‍याइनुपर्ने र सहुलियत दरको शुल्क हुनुपर्ने मागलाई प्राथमिकता दिएको छ । खानेपानी संस्थानको धरान शाखालाई जबरजस्ती बोर्डमा गाभेपछि धरानमा खानेपानीको अभाव भइरहेको साम्पाङले बताए । ‘हप्तामा दुई गाग्री मात्र पानी आउँछ, जनताले जारमा पानी किनेर खाइरहनुपरेको छ,’ उनले भने, ‘दैनिक १६ घण्टा पानी खुवाउँछौं भनेर आयोजना ल्याएको हो, एक दुई घण्टा मात्र भए पनि हुन्छ । तर पानी नै छैन ।’

यता, धरान खानेपानी व्यवस्थापन बोर्डका प्रमुख तथा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले खानेपानी संस्थानको सम्पत्ति र दायित्व बोर्ड अन्तर्गत आए पनि पूरै सिस्टम सञ्चालन हुन नसक्दा समस्या रहेको बताए । ‘परियोजना अन्तर्गत उत्पादन भएको खानेपानी पर्याप्त छ,’ उनले भने, ‘तर पाइपलाइनहरूमा समस्या देखिएकाले अभाव देखिएको हो, केही दिनभित्र समस्या समाधान गरिनेछ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)