वैशाख ७, रुकुम पश्चिम । रुकुम पश्चिमका स्थानीय तहमै माटो परीक्षण हुने भएको छ । जिल्लामै माटोको अवस्थाबारे जानकारी लिन सकिने भएकाले माटो परीक्षण गर्न अब जिल्लाबाहिर जानु पर्ने बाध्यता हटेको छ । खेतीपाती र अरू प्रयोजनका लागि स्थानीय तहमै माटो परीक्षण गर्न रुकुम पश्चिमका ६ ओटै स्थानीयतहहरुले मेशिन खरीद गरेका छन् ।
३ लाख ५० हजार रुपैयाँका दरले ३ ओटा नगरपालिका र ३ ओटा गाउँपालिकाले डिजिटल मेशिन खरीद गरेका छन् । उक्त मेसिनले माटोको १४ ओटा गुण एकै पटक देखाउने कृषि विज्ञ राजेन्द्र देवकोटाले जानकारी दिए ।
उनले भने, ‘डिजिटल मेसिनमार्फत अम्लीयपन, क्षारीयपन, इसी, सूक्ष्म खाद्य तत्व, मुख्य खाद्य तत्व, प्रोटेबललगायतको अवस्थाबारे जानकारी मिल्नेछ ।’ भने माटो परीक्षणको नतिजा प्रिन्ट गरी तत्कालै किसानलाई दिने व्यवस्थासमेत गरिएको कृषि विज्ञ देवकोटाले जानकरी दिए ।
पहिलो पटक जिल्लामा माटो परीक्षण मेशिन खरीद गरेका कारण स्थानीय तहका कृषि शाखामा कार्यरत कर्मचारीलाई मेशिन सञ्चालन गर्ने विधिबारे तालिम दिइरहेको र तालिम पश्चात माटो परीक्षणको काम सञ्चालनमा ल्याउने जानकारी दिइएको छ ।
स्थानीयस्तरमै मेशिन पुगेपछि माटो परीक्षणका लागि नेपालगन्ज र सुर्खेत पुग्नुपर्ने बाध्यता हटेको मुसीकोट नगरपालिका १३ का किसान ज्ञानबहादुर ओलीले जानकारी दिएका छन् । उनले भने, अब माटो सुहाउँदो व्यवसाय सञ्चालन गरी आम्दानी लिन सकिनेछ ।
प्रत्येक स्थानीय तहमा १०० ओटा ‘रिएजेन्ट’ किटसमेत ल्याइएको छ । ‘१०० ओटा रिएजेन्टले पुग्ने गरी सबै वडामा माटो परीक्षण गर्ने र त्यसको नतिजाका आधारमा बालीनाली र फलफूल खेतीको सिफारिस गर्ने तयारी गरिएको ओलीले जानकारी दिए ।
आठबीसकोट नगरपालिका उपप्रमुख गीता नेपालीले भनिन्, ‘अहिलेसम्म सबै ठाउँमा परम्परागत तरिकाले खेती भइरहेको छ, अब व्यावसायिक खेतीमा किसानको आकर्षण बढ्नेछ ।’
जिल्लामा माटो परीक्षण गरी माटो सुहाउँदो खेती प्रणाली गर्दा रुकुममा कृषिजन्यवस्तुको उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिए ।
जलवायु परिवर्तनको कारण रुकुममा खेतीबाली उत्पादनमा कमी आईरहेको बेलामा माटो परीक्षणले उत्पादनमा वृद्धि हुने र किसानमा उत्साह थपिएको केसीले जानकारी दिए ।