ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीपी प्रतिष्ठानमा खपतभन्दा चार गुणा बढी अक्सिजन 

प्रति मिनेट १ हजार ६०० लिटर उत्पादन

२०७८ बैशाख, १८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

वैशाख १८, धरान । छिमेकी मुलुक भारतमा अक्सिजन नपाएरै कोरोना संक्रमितहरुको मृत्यु बढ्दै गएपछि नेपालमा पनि अक्सिजनको अभाव हुने चिन्ता हुन थालेको छ । 

अहिले जटिल अवस्थाका बिरामीहरूको संख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपर्ने अवस्था आइरहेको छ । 

प्रदेश १ मा पनि कोरोना संक्रमित बढ्दै गएपछि कोभिड अस्पतालहरु तयारी अवस्थामा राख्न थालिएको छ । अझ अक्सिजनको कमी हुन नदिन सबैको चासो बढेको छ । प्रदेश सरकारले पनि अक्सिजनको कमी हुन नदिन अक्सिजन प्लान्ट निर्माण गर्नेतर्फ पनि योजना अघि सारेको छ । 

सोमवार मुख्यमन्त्री शेरधन राईले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालको तयारीको अवस्थामा बुझ्दै अक्सिजन पर्याप्त मात्रामा राख्न निर्देशन समेत गरेका छन् । 

प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट हुँदा पनि पहिलो चरणको कोरोना संक्रमणको बेलामा कोभिड अस्पतालमा अक्सिजनको अभाव हुँदा संक्रमितहरुको मृत्यु समेत भएको थियो । अहिले भने पूर्णरुपमा धान्न सक्ने अवस्थामा तयारी गरेको प्रतिष्ठानले जानकारी दिएको छ । अघिल्लो वर्षको कोरोना संक्रमणको समयमा कोभिड अस्पताल पूर्णरुपमा तयारी नहुँदा बिरामीहरुले अक्सिजन पाउन नसक्दा आलोचना खेप्नु परेको थियो । 

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामनी पोखरेलका अनुसार अहिले प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्टबाट प्रति मिनेट १ हजार ६०० लिटर अक्सिजन उत्पादन भइरहेको छ । खपत क्षमताभन्दा चार गुणा बढी अक्सिजन उत्पादन हुने गरेको उनले बताए । 

उनले भने, ‘अघिल्लो वर्ष ४ ओटा टावलमध्ये दुई ओटा मात्रै सञ्चालनमा थियो, २ ओटा बिग्रिएको थियो, त्यसैले प्राविधिक समस्या भयो, अहिले फुल फेसमा ४ ओटै टावल सञ्चालनमा छन्, त्यसैले कुनै समस्या आउँदैन ।’  

प्रतिष्ठानका सबै विभागहरुमा प्रयोग भएको अक्सिजन ४०० देखि ५०० लिटर प्रति मिनेट रहेको छ । खपतभन्दा पनि चार गुणा बढी उत्पादन भएकाले कुनै समस्या नआउने पोखरेलको भनाइ छ । 

उनले भने, ‘पिक आवरमा पनि ४० प्रतिशत मात्रै खपत हुने गरेको छ, कोभिड अस्पतालमा १०० जना बिरामी नै भर्ना भए पनि धान्न सक्ने अवस्थामा रहेको छ ।’ प्रतिष्ठानमा उत्पादन भएको अक्सिजन करीब ४०० देखि ५०० बिरामी भर्ना भए पनि धान्न सक्ने छ । 

कोभिड अस्पतालमा पूरै १०० बेडमै अक्सिजन पाइपलाइन विस्तार गरिसकेको छ । पाइपलाइनमा कुनै समस्या आए विकल्पका लागि सिलिण्डरबाट पनि पाइपलाइनमा जोड्न सकिने व्यवस्था गरिएको छ ।

अहिले स्टक राख्नु पर्ने अवस्था नरहेपनि बिरामीको संख्या बढ्दै गएमा तयारी रहन सिलिण्डर थप गर्ने तयारी गरिएको उनले बताए । उनले भने, उत्पादन क्षमता अधिकतम हो, भोलिका दिनमा सर्टेज हुन सक्ने कुरालाई मध्यनजर गर्दै प्लान्ट थप्ने कि भन्ने कुरा पनि हुँदैछ, तर ठोस निर्णय भएको छैन ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)