धनकुटा । धनकुटा नगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवा वैशाख २० देखि २६ गतेसम्मका लागि बन्द गरिएको नगरपालिका कार्यालयले बताएको छ ।
शनिवार गरिएको पीसीआर परीक्षणमा नगरपालिका एक पुरुष कर्मचारीमा कोरोना पोजेटिभ देखिएको र अन्य कर्मचारीलाई पनि लक्षण देखापरेकाले संक्रमण फैलन रोक्न कोरोना संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए । यो अवधिमा नगरपालिकाले प्रवाह गर्दै आएका प्राथमिक स्वास्थ्य सेवाहरू, शहरी स्वास्थ्य क्लिनिक, फोहोर मैला व्यवस्थापन, एम्बुलेन्स, दमकल, नगर प्रहरी, खानेपानी, विपद् व्यवस्थापन लगायत भने बन्द नहुने उनले बताए ।
धनकुटा नगरपालिकाले गत वैशाख ८ गते एक विद्यार्थीमा लक्षणसहित कोरोना संक्रमण पुष्टि भएपछि एक हप्ताका लागि गरेको नगरका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ नहुने निर्णय अर्को सूचना जारी नभएसम्मका लागि थपेको छ । धनकुटा नगरपालिकाको कोभिड संकट व्यवस्थापन समिति (सीसीएमसी)को आइतवार बसेको बैठकले विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिसहितको पठनपाठन नगर्ने, भर्चुअल वा वैकल्पिक सिकाइ विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको हो । नगरपालिकाले परीक्षा सञ्चालन भइरहेका विद्यालयमा पनि परीक्षाका सबै गतिविधि रोक्न अनुरोध गरेको प्रशासकिय अधिकृत थापाले बताए । नगरका १० वडामा ५३ ओटा सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालनमा छन् ।