वैशाख २१, धनकुटा । यातायात साधन गुड्दा र हावा चल्न थाल्दा धुलोले आकाश नै छोपिएजस्तो हुन्छ । त्यही उडेको धूलोले शरीर भरिन्छ । यस्तैमा दिनभरि भिडिरहन्छन् मानिसहरु हिडिरहनु पर्ने बाध्यता छ लेगुवाबासीलाई ।
दिनभरि लेगुवामा बसेका मानिसहरुलाई साँझमा नुहाउन नसके सुत्नै कठिन हुन्छ । अझ खानेकुरा र सुत्ने ओछ्यान धुलोले भरिएर झनै समस्या हुने गरेको छ । सडकमा उड्ने धुलो लेगुवाबासीका लागि स्वास्थ्य चुनौती बनेको छ ।
मध्यपहाडी लोकमार्ग अन्तरगत हिले–लेगुवा सडक कालोपत्र नहुँदा आइपरेको समस्या हो यो । सडक कालोपत्र नहुँदा यात्रुहरु वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् भने अर्कोतिर सडकमा उडेको धुलोका कारण स्थानीय ग्रसित छन् । सडक कालोपत्र गर्न ठेक्का गरेको समय सकिएर पटक पटक थपिएको म्याद पनि सकिँदा समेत सडक कालोपत्रको काम सकिएको छैन ।
सरकार र निर्माण कम्पनीले विभिन्न बहानामा सडक कालोपत्र नगर्दा आवतजावतमा मात्रै होइन सडकमा सवारी चल्दा उड्ने धुलोले स्थानीयले राम्रो खान, राम्ररी सुत्न नपाएको र धुलोकै कारणले विभिन्न रोग लाग्न थालेको स्थानीय सुवन श्रेष्ठले बताए ।
उनले निर्माणको जिम्मा पाएको कम्पनीले विगत २ वर्षदेखि सडक कालोपत्रे गर्ने भनेर प्रतिवद्धता जनाएको र सहज परिस्थितीमा काम नगरेर अहिले परिस्थिती नभएको भनेर भाग्न खोजेको गुनासो गरे । सडक कालोपत्र नहुँदा धुलोका कारण होटल व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको श्रेष्ठको भनाइ छ ।
‘कहिलेकाहिँ त धुलोको कारणले कति दिन बाँचिएलाजस्तो हुन्छ’, श्रेष्ठले भने ‘अत्याधिक धुलो उड्न थालेपछि त बसाइँ नै सर्नुपर्छ कि जस्तो लाग्छ तर, कहाँ जाने आफ्नो ठाउँ यहि हो भनेर चित्त बुझाउनु परेको छ ।’ लेगुवा बजारमा गर्मी भइरहने ठाउँ भएकाले सुख्खा नै रहने धुलो अत्याधिक उड्ने गरेको छ । श्रेष्ठ भन्छन् ‘एकवर्ष अघिसम्म पनि मैले खासै महसुस गरिन । यो वर्ष भने लेगुवामा बस्नै नसकिने हो कि जस्तो भएको छ ।’
घरै छेऊमा भएको सडकमा सवारी साधन आवतजावत गर्दा धुलोले घरै छोप्ने महालक्ष्मी नगरपालिका ५ लेगुवाका नारायण प्रसाद धमलाले बताए । धुलोले कपडा धोएर सुकाए पनि कपडा सुक्न नपाई धुलोले खाने धमलाको भनाइ छ । ‘धुलो ले खपिसक्नु छैन खाना खान लाग्यो सडकमा गाडी हुइँकिन्छ । सबै धुलो जति घरभित्र पस्छ’, धमलाले भने, ‘हतार हतार खाना छोप्नु पर्छ । नत्र सबै खानामा पस्छ ।’
सडक कालोपत्र नहुँदा आवतजावतमा मात्रै होइन सडकमा सवारी चल्दा उड्ने धुलोले स्थानीय विभिन्न रोगको शिकार बनेको र वर्षामा हिलोले गाडि फस्ने गरेको स्थानीय देबकुमार श्रेष्ठले बताए । धुलोको कारणले स्थानीय रोगको शिकार बनेको र पटकपटक निर्माण कम्पनीसँग कुरा गरेको भएपनि सुनुवाइ नभएको उनको भनाइ छ ।
सडक कालोपत्र नहुँदा धनकुटाबासी मात्रै नभइ भोजपुर र संखुवासभाबासी पनि पीडित भएको श्रेष्ठको भनाइ छ । ‘मुखमा पस्ने धूलोले त कहिले सास फेर्नै कठिन होलाजस्तो हुन्छ’, उनले भने ‘घरको कोठादेखि बजारभरि धुलो नभएको कतै छैन ।’
के हुँदैछ काम ?
करीब ३६ करोडको लगानीमा सडक निर्माणको ठेक्का लिएको विरुवा कन्स्ट्रक्सनले पञ्चेदेखि लेगुवासम्मको १३ किलोमिटर सडकको ५ केही स्थानहरुमा कालोपत्र र अधिकांश ठाउँमा कल्भर्ड र नाली मात्र निर्माण गरेको छ । लेगुवाको राम बजार भोजपुर र संखुवासभा प्रवेश गर्ने एक मुख्य बजार पनि हो ।
यो सडक एक वर्ष अघि नै कालोपत्र भइसक्ने भनेर निर्माण कम्पनीले बताएको भएपनि हालसम्म नभएको स्थानीयले गुनासो गरेका छन् । मध्यपहाडि लोकमार्ग अन्तरगत धनकुटा हिलेदेखि पञ्चेसम्मको १३ किलोमिटर सडक कञ्चनजंगा कन्स्ट्रक्सन र पञ्चेदेखि लेगुवासम्मको १३ किलोमिटर सडक विरुवा कन्स्ट्रक्सनले तीन वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्ने जिम्मा लिएका थिए ।
सम्झौता अनुसार २०७६ चैत मसान्तभित्र सडकमा कालोपत्र गरिसक्नु पर्ने थियो । तर, सो समयमा काम सम्पन्न नभएपछि सम्झौता अवधि गत पुस १५ सम्म थपिएको थियो । थपिएको अवधिभित्र पनि सडक कालोपत्र नभएपछि सरकारले गत माघ ११ गते पुनः आगामी असार मसान्तसम्म म्याद थप गरेको छ । अब थपिएको सम्झौता अवधिभित्र निर्माण सक्न निर्माण कम्पनीसँग मिलेर काम गर्ने मध्यपहाडी आयोजना कार्यालय पाँचथरका प्रमुख सुरेश न्यौपानेले बताए ।
उनले हिलेदेखि लेगुवासम्मको सडकमा अधिकांश ठाउँमा काम भइरहेपनि कोरोना संक्रमणको दोस्रो लहर समस्या पार्ने हो कि भन्ने चिन्ता थपिएको बताए । मध्यपहाडी आयोजना प्रमुख न्यौपानेले जिल्ला प्रशासन कार्यालयसँग सहकार्य गरी सडक निर्माणको लागि चाहिने सामग्री नेपाली बजारबाट ढुवानी भइरहेपनि भारतबाट ल्याउने सामान आयात गर्न समस्या भइरहेको बताए ।
यता विरुवा कन्स्ट्रक्सनका सञ्चालक सुवित श्रेष्ठले गत वर्ष भएको लकडाउनले केही असर गरेको र यो वर्ष पनि देशका केही जिल्लामा भएको लकडाउनले कालोपत्र सक्न समस्या भएको जानकारी दिए । उनले सडकको काम धमाधम भइरहेको भएपनि निर्माण सामग्री सकिन लागेकाले कोरोनाको दोस्रो लहरका कारण ल्याउन समस्या भइरहको बताए ।
‘१३ किलोमिटर सडकमा ५ किलोमिटर कालोपत्र गरिएको र यो महीना थप ५ किलोमिटर सडक कालोपत्र गरिने योजना छ ।’ श्रेष्ठले भने ‘जेठमा बाँकी ३ किलोमिटर सडक कालोपत्र गरेर असारमा फिनिसिङको काम गर्ने योजनामा रहेका छौ, कोरोना कति असर गर्ने हो थाहा छैन ।’