ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीमा कफीखेतीको सम्भावना : पाँच जिल्लामा व्यावसायिक उत्पादनको तयारी

२०७८ बैशाख, २४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । कर्णालीमा कफीखेतीको सम्भावना देखिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार प्रदेशमा व्यावसायिक रूपले कफी उत्पादन नभए पनि सुर्खेतलगायत केही जिल्लाका किसानले व्यक्तिगत उपभोगका लागि गरिएको कफीखेतीले उत्पादनको राम्रो सम्भावना देखाएको हो ।

बोर्डले प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुममा कफीखेती उपयुक्त रहेको बताएको छ । बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले कफी उत्पादनका लागि बोर्डले हाल सुर्खेत, जाजरकोट र सल्यानमा डेढ लाख कफीका बेर्ना उत्पादन गरिरहेको जानकारी दिए । पहिलो चरणमा ती जिल्लामा उक्त संख्यामा कफीका बेर्ना उत्पादन गरी विस्तृत परीक्षणको तयारी गरिएको उनले बताए । उनका अनुसार बोर्डले आगामी वर्षदेखि कर्णालीमै कार्यालय स्थापना गरी चक्लाबन्दीको अवधारणाअनुसार व्यावसायिक कफीखेतीमा किसानलाई आकर्षित गर्ने योजना अघि सारेको छ ।

‘समुद्री सतहबाट ८ सयदेखि १६ सय मिटरको उचाइमा खेती गर्न सकिने अरबी जातको कफी लगाउने योजनामा छौं । अहिले विश्वमै सबैभन्दा महँगो कफीको रूपमा यो विक्री भइरहेको छ,’ निर्देशक भट्टराईले भने, ‘बोर्डले कर्णालीमा तीनै तहको सरकारको समन्वयमा व्यावसायिक कफीखेतीको पहल थालेको छ ।’ ५० रोपनीभन्दा बढी जमीनमा कफीखेती गरेमा बोर्डले लागतको ५० प्रतिशत अनुदान दिने गरेको उनले जानकारी दिए । कफी खेतीमा अन्य बालीजस्तो धेरै दुःख गर्नु नपर्ने, तीन महीनाभित्र बेर्ना तयार हुने र तीन वर्षपछि उत्पादन लिन सकिने उनले बताए ।

बोर्डका निर्देशक भट्टराईका अनुसार कफीको बजार भाउ पनि वर्षेनि बढिरहेको छ । कफी खेतीका लागि किसानलाई आवश्यक प्रशिक्षणको तयारी समेत बोर्ड गरिरहेको उनले बताए । ‘किसानलाई आवासीय तालीम दिन्छौं । बजारीकरणको व्यवस्था पनि गर्छौं,’ उनले भने, ‘कफीको प्रशोधन समेत बोर्डले गरिदिने योजना बनाएको छ ।’ कर्णालीका जंगलमा कफीखेती गरेमा यहाँका युवा विदेश जान नपर्ने उनको भनाइ छ । कफीखेती गर्ने विधिबारे किताब समेत प्रकाशन गर्न लागिएको उनले  ।

कफीखेती बारेमा प्राविधिक ज्ञान नपाउँदा किसानले भने समस्या परेको बताएका छन् । ‘कफीका बिरुवामा लेपन गर्न नजान्दा सबै बिरुवा खेर गए,’ ६ वर्षअघि कर्णालीमा कफीखेतीको अभ्यास गरेको जनअपेक्षा सहकारीका प्रमुख छविलाल आचार्यले भने, ‘प्राविधिक ज्ञान र किसानको आकर्षण नहुँदा पूरै लगानी डुब्यो ।’ कफीखेतीका लागि आवश्यक जग्गा र अनुकूल वातावरण भए पनि प्राविधिक ज्ञानसँगै बजार नपाउँदा समस्या भएको गुनासो उनले गरे ।

आचार्यका अनुसार कर्णालीका अधिकांश किसानलाई कफीखेतीबारे ज्ञान नहुँदा उत्पादनमा खासै चासो दिएको पाइँदैन । ‘कफीखेतीबारे तालीम नलिएकाले कसरी प्रशोधन हुन्छ भन्ने जानकारी भएन । यहाँ कफी पर्याप्त फल्दो रहेछ । यसलाई विक्री गर्न पाए आम्दानी हुने थियो,’ लेकबेंसी–९ का स्थानीय भविसरा पाण्डेले भनिन्, ‘अरूका कुरा सुनेर कफी खेती गरे पनि सोचेजति लाभ लिन सकिएन ।’ व्यावसायिक कफीखेतीका लागि विशेष प्याकेज ल्याउनुपर्ने उनले बताइन् । कर्णालीका किसानलाई कफीखेतीमा आकर्षित गर्न सरकारले अनुदानका कार्यक्रम ल्याउनुपर्ने समेत उनको माग छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)