ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिँचाइको मुहान खानेपानीका लागि लाग्ने भएपछि किसान आन्दोलित

२०७८ बैशाख, २४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

वैशाख २४, धनकुटा । पाख्रिबास नगरपालिका वडा नं. १० की कृष्णमाया राईलाई निकै चिन्ताले सताएको छ । उनलाई चिन्ताले सताउनुको मुख्य कारण पाख्रिबास नगरपालिका वडा नं. ८ र १० को सिमाना रहेको भुल्के मुहानको पानी पाख्रिबास नगरपालिकाले पम्पिङ गरेर लान टेण्डर गरेर हो । 

कृष्णकुमारी राई त एक उदाहरण मात्रै हुन पाख्रिबास नगरपालिका वडा नं. ८, १० र सहिदभुमि गाउँपालिका ५ का ३६५ किसानको अवस्था उस्तै छ । पाख्रिबास नगरपालिकाले भुल्के मुहानको पानी लगेपछि पाख्रिबास नगरपालिकाका सुनबालुवा, कात्तिके, काभ्रे, चुङमाङ, मालबासे र सहिदभुमीको खोकुटारको करीब २ हजार ५०० रोपनी खेतीमा हुने दुई बालि धान, एक बाली गहुँ उत्पादन नभइ आफूहरु भोकमारीमा पर्ने र खेती मरुभूमिमा परिणत हुने राईले बताइन् । 

पाख्रिबास नगरपालिकाले खानेपानीको लागि भुल्केको पानी लाने योजना बनाएपछि यतिबेला सो ठाउँका कृषक आन्दोलित भएका छन् । कृषकले पिउन तथा सिँचाइका लागि प्रयोग गर्दै आइरहेको भुल्के मुहानको पानी समन्वय नगरि पाख्रिबास नगरपालिकाले बृहत खानेपानी योजनाका लागि ठेक्का लगाएको भन्दै भूल्केबासी आन्दोलित भएका हुन् ।

तीन वर्षअघि पनि सो पानी नगरपालिकाले लैजान डीपीआर गर्न खोज्दा स्थानिय कृषकले अवरोध गर्दा नगरपालिकाले नमानेपछि भूल्केबासी अदालतसम्म पुगेका थिए । सो बेला उच्च अदालत धनकुटाले स्थानीयको सहमतिमा मात्रै खानेपानी सञ्चालन गर्न पाख्रिबास नगरपालिकालाई आदेश दिएको थियो । तीन वर्षपछि नगरपालिकाले अहिले पुनः स्थानीयसँग कुनै सहमति नगरि खानेपानी योजनाको काम अघि बढाएपछि आन्दोलित हुनुपरेको स्थानीय होम बहादुर खत्रीले बताए । 

खत्रीले भुल्केको मुहानको भरमा वार्षिक ५० मुरी धान उत्पादन गर्दै आएको र यो पानी नगरपालिकाले लगेपछि खेती छाड्नुपर्ने हुनसक्ने बताए । मुहान रहेको ठाउँमाथि कुनै खेती नभएकाले नगरपालिकाले पानी लगेपछि मुहान तलको भाग पनि उस्तै हुने खत्रीको भनाइ छ । 

अदालतले दिएको आदेश अवज्ञा गरि दुई साता अघिमात्र खानेपानी बृहत योजना सञ्चालको ठेक्का नै निकालेको सूचना जारी भएपछि कृषकले खानेपानी योजना नगरपालिकाले जबरजस्ती सञ्चालन गर्न खोजेको थाहा पाएको खत्रीले बताए । 

आफ्नो पुर्खादेखि अहिलेसम्म ५० वर्षदेखि भुल्के मुहानको भरमा खेती गर्दै आएको र अहिलेपनि निरन्तर रहेको अर्का किसान भीमबहादुर न्यौपानेले बताए । नगरपालिकाले अहिले ४ घण्टा पानी लाने भनेको भएपनि पछि जुनसुकै समयमा पनि लाने न्यौपानेको भनाइ छ । 

न्यौपानेका अनुसार भुल्केको पानीको भरमा एक बालीमा कम्तीमा ५० हजार मुरी धान उत्पादन हुने गरेको छ । स्थानीय कृषकले कृष्णकुमारी राईको संयोजकत्वमा भुल्केपानी संरक्षण समिति नै गठन गरि आन्दोलित भएका छन् । राईले नगरपालिकाले आफ्नो गाउँमा केही नगरेको र भएको पानीको मुहान लान खोजेको बताइन् । उनले भुल्केक्षेत्र मरुभुमी बनाउने प्रयासमा लागेको र भुल्केको पानी कुनैपनि हालतमा लान नदिने बताइन् । 

भुल्केको पानी लिफ्टिङ गर्न टेन्डरका लागि सूचना जारी भएपछि भुल्केबासीले धनकुटा स्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा योजना रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै कार्यायालका प्रमुख विनोद कुमार भुजेलले स्थानीय कृषक, नगरपालिकासँग सहकार्य गरी माथिल्लो निकायको सल्लाह अनुसार अघि बढ्ने बताए । 

खानेपानीलाई पहिलो प्राथमिकता दिनुपर्ने भएपनि स्थानीय सरकारले स्थानीयसँग सहकार्य नगर्दा समस्या आएको सरोकारवालाहरु बताउँछन् । यता पाख्रिबास नगरपालिका प्रमुख वृष बहादुर राईले नगरपालिकाले पटकपटक खानेपानी लैजाने विषयमा सहमति गरेको बताए । भुल्केको पानीले सिँचाइ हुने करीब ८० प्रतिशत जग्गा रहेको र सो जग्गामा पर्यटकीय क्षेत्र बनाउने भनेर पनि स्थानीयसँग सहमति भएको नगर प्रमुख राईले बताए । 

भुल्केमा रहेको पानीको १० भागको एक भाग पानी निश्चित समय पानी लाने स्थानीयसँग सहमति भएको राईको भनाइ छ । राईले नगरपालिकाका एक हजार ७८४ घरपरिवारलाई खानेपानी व्यस्थापन गर्न योजना सञ्चालनको तयारी गरेको र हिजो पनि सहमति गरेको तथा भोलि पनि सहमति गरेर खानेपानी ल्याउने जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)