सुर्खेत । दोस्रो चरणको कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सुर्खेतका स्थानीय तह अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माणमा जुटेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका र पञ्चपुरी नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माण गरिएको हो । यस्तै, लेखबेंसी नगरपालिका, सिम्ता गाउँपालिका, चिङगाड गाउँपालिका र बराहताल गाउँपालिकाले समेत अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माण प्रक्रिया अघि बढाएका छन् ।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले अक्सिजनसहितको आइसोलेसन कोरोना अस्पताल स्थापना गरेको जनाएको छ । मेहेलकुना अस्पताल र गुर्भाकोट नगरपालिकाको संयुक्त लगानीमा सिटी हल मेहेलकुनामा अस्थायी कोरोना अस्पताल स्थापना गरिएको हो । कोरोना संक्रमण तीव्र बनेपछि नागरिकको उपचारलाई सहज बनाउन अक्सिजनसहितको आइसोलेसन र कोभिड अस्पताल निर्माण गरिएको नगरप्रमुख हस्तबहादुर पुनले बताए । तत्कालका लागि २५ बेडको अक्सिजनसहितको आइसोलेसन निर्माण गरे पनि आवश्यक परे सिटी हलमै २० बेड थप्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
पुनका अनुसार सेवा–सुविधासहित कोरोना संक्रमितको व्यवस्थापन गर्न उप–प्रमुख, नगरपालिकाको स्वास्थ्य शाखा, मेहेलकुना अस्पताललगायतको टिम परिचालन गरिएको छ । ‘कोरोना संक्रमितको व्यवस्थापनमा थप आर्थिक तथा प्राविधिक सहयोग आवश्यक परे जिल्ला स्वास्थ्य कार्यालय, सामाजिक विकास मन्त्रालय एवं प्रदेश सरकारसँग समन्वयका लागि पूर्वतयारी गरिरहेका छौँ’, पुनले भने । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले समेत सुविधासम्पन्न अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । चौकुने गाउँपालिका–६ स्थित जीवनज्योति माध्यमिक विद्यालयमा पालिकाले सोमबारदेखि अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो ।
भारत कमाउन गएका नागरिक गाउँ फर्किन थालेसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अक्सिजनसहित आइसोलेसन कक्ष निर्माण गरिएको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए । तत्कालका लागि १२ बेडको आइसोलेसन बनाइएपनि आवश्यक परे ५० बेडसम्मको बनाउन सकिने उनले जानकारी दिए । दशाहीका अनुसार १२ बेडको आइसोलेसन सेन्टरमा हाल ६ वटा अक्सिजन सिलिन्डर रहेका छन् । उनले थप अक्सिजन सिलिन्डर खरिदका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको बताए ।
‘भारतबाट गाउँ फर्किने युवाहरूको संख्या बढ्दै गएकाले कोरोना संक्रमणको जोखिमसमेत बढेको छ,’ उनले भने, ‘संक्रमण फैलिन नदिन गाउँपालिकाले सचेतना अभियान सञ्चालन गर्नुका साथै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको छ ।’
गाउँपालिकामा हाल ५ जना कोरोना संक्रमित उपचाररत छन् । स्थानीय तहले अस्थायी रूपमा निर्माण गरेका कोरोना अस्पतालका बिरामीको अवस्था असामान्य भए आईसीयू वा भेन्टिलेटरमा राख्न प्रदेश अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाएको छ । जिल्लाभरि कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि स्वास्थ्यकर्मीको संख्या कम हुँदै गएको छ । कर्णाली प्रदेश सरकारले तत्कालै करारमै भए पनि स्वास्थ्यकर्मीको अभावलाई पूरा गर्न आवश्यक प्रक्रिया सुरु भइसकेको जनाएको छ ।