ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीपीका चिकित्सक तथा कर्मचारीले पाएनन् तलब

२०७८ जेठ, २  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

जेठ २, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक तथा कर्मचारीले तलब पाउन पटकपटक आन्दोलन गर्नुपर्ने बाध्यता छ । पछिल्लो समय कोरोना महामारीमा जोखिमपूर्ण रूपमा संक्रमितको उपचारमा खटिएका चिकित्सक तथा कर्मचारी समयमै तलब पाउन नसक्दा आफ्नो जिम्मेवारी पूरा गर्न हतोत्साहित भइरहेका छन् । 

केही दिनअघि कर्मचारीले तलबसहित भत्ता नपाएको भन्दै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रहरी प्रशासन लगाएर ताला तोडेका थिए । प्रतिष्ठानका कर्मचारी र चिकित्सक समेत समयमै तलब पाउनुपर्ने भन्दै बेला बेलामा आन्दोलित हुने गरेका छन् ।

मुख्य पदाधिकारी प्रतिष्ठानको काम भन्दै बेला बेला काठमाडौं पुगेर अनावश्यक खर्च गर्ने, तर चिकित्सक तथा कर्मचारीलाई तलब खुवाउन समस्या देखाउने गरेको आरोप लाग्दै आएको छ । विभिन्न बहानामा पदाधिकारीले खर्च गर्ने पैसा हुने, तर तलब भने खुवाउन नसकेको भन्दै एक चिकित्सकले गुनासो गरे । तलब नआउञ्जेलसम्म घरमै बस्ने निर्णय गरेको उनले सुनाए । 

पदाधिकारीलाई विभिन्न बहानामा घुम्न, डुल्न प्रतिष्ठानले खर्च गर्न सक्ने, चिकित्सक तथा कर्मचारीलाई तलब खुवाउन किन नसक्ने भन्दै उनले प्रश्न गरे । तलब खुवाउन नसके चिकित्सकले काम गर्न नसक्ने उनको भनाइ छ । प्रतिष्ठानले प्रत्येक महिनाको अन्तिम साता तलब दिने गरेको छ । तर अहिले भने दोस्रो महिनाको पनि दुई गते पुग्दासम्म पनि तलब नदिएको गुनासो उनको छ । 

प्रतिष्ठानले चिकित्सक तथा कर्मचारीको तलब मात्रै मासिक १२ देखि १३ करोड रुपैया हुने गर्दछ । आयस्रोतमा कमी आएको समयै तलब खुवाउन नसकेको प्रतिष्ठानको भनाइ छ । तर चिकित्सक तथा कर्मचारीले भने पदाधिकारी भ्रष्टाचारमा लिप्त भएकाले तलब सही समयमा दिन नसकेको आरोप लगाएका छन् ।

पहिलो चरणको कोरोना महामारीले आयस्रोत घटेको प्रतिष्ठानको गत असोज महिना देखि वृद्धि हुँदै गए पनि पुनः दोस्रो चरणको कोरोना महामारीले आयस्रोत घट्न गएकाले समयमै तलब दिन केही समस्या रहेको प्रतिष्ठानका रजिष्टार प्रा.डा. मोहनचन्द्र रेग्मी बताउँछन् । उनले भने, ‘आर्थिक संकट छ, आम्दानी घटेको छ, अनुदान आउँदैन, त्यही भएर तलबमा समस्या छ ।’ उनका अनुसार प्रतिष्ठान वार्षिक ४८ करोड रुपैयाको व्ययभारमा रहेको छ । प्रतिष्ठानको आयस्रोत वर्षको करिब १ अर्ब रहे पनि अहिले मासिक एक डेढ करोडको अनुपातमा आएको उनी बताउँछन् । उनले भने, ‘संकटमै छौं, ८० प्रतिशत आम्दानी घटेको छ, वार्षिक डेढ अर्बको पेरोल नै छ ।’ 

जनशक्तिको आकार ठूलो भएकाले पनि अहिलेको आम्दानीले धान्न नसकेको उनको भनाइ छ । व्यक्तिगत एजेण्डा लिएर काठमाडौं गई अनावश्यक खर्च नभएको उनले दाबी गरे । प्रतिष्ठानका पदाधिकारीहरुले अनावश्यक खर्च गरेर तलब खुवाउन नसकेको भन्ने चै आरोप मात्रै रहेको उनले बताए । प्रतिष्ठानमा आर्थिक संकट बढ्दै गएकाले सरकार सँग अनुदानको लागि पहल गरिरहेको उनले बताए । विद्यार्थी, अस्पतालको आम्दानी घटेकाले आर्थिक संकट रहेको उनको भनाइ छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)