सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले सरकारद्वारा जारी निषेधाज्ञाको समय कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप्न माग गरेको छ । कोरोना महामारीले सिर्जित विषम परिस्थितिका कारण कर दाखिला गर्न समस्या भएकाले कुनै थप शुल्क र जरिवाना नलिन संघले माग गरेको हो ।
संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलद्वारा जारी विज्ञप्तिमा कर विवरण पेस गर्नुपर्ने सम्बन्धमा कानुनमा उल्लिखित हालको व्यवस्थाको सट्टा कोभिडको प्रकोप सहज नहुञ्जेल सहज रूपमा विवरण र कर दाखिला गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको छ ।
कर विवरण पेस गर्नुपर्ने सम्बन्धमा हालको व्यवस्थालाई सहज बनाई कोभिड प्रकोप न्यून नहुन्जेलसम्म सहज रूपमा कर दाखिला गर्न र विवरण बुझाउन पाउनुपर्ने माग संघको छ ।
संघका महासचिव कँडेलले विशेष आर्थिक प्याकेजसहित कर जरिवाना छुट, विद्युत् महसुल छुटको माग गर्दै सरकारलाई आगामी आर्थिक वर्षको बजेटबाट सम्बोधन गर्न मागपत्र पेस गरिएको जानकारी दिए । उनका अनुसार बैंक तथा वित्तीय संस्थाका ब्याज किस्ता, आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, उद्योग कलकारखानाको विद्युत्, श्रमिक कर्मचारीको तलब, घरभाडा, उद्योग तथा कम्पनीमा बुझाउनुपर्ने बक्यौतालगायतले व्यवसायी मारमा परेका छन् ।