ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीपीका चिकित्सक तथा कर्मचारीले पाएनन् तलब

२०७८ जेठ, ५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक तथा कर्मचारीले तलब पाउन पटकपटक आन्दोलन गर्नुपर्ने बाध्यता छ । पछिल्लो समय जोखिमपूर्ण रूपमा कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक तथा कर्मचारीले समयमै तलब पाउन सकेका छैनन् ।

केही दिनअघि कर्मचारीले तलब, भत्ता नपाएको भन्दै प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रहरी प्रशासन लगाएर ताला तोडेका थिए ।

प्रतिष्ठानको काम भन्दै बेला बेला काठमाडौं पुगेर अनावश्यक खर्च गर्ने, तर चिकित्सक तथा कर्मचारीलाई तलब खुवाउन समस्या देखाउने गरेको आरोप मुख्य पदाधिकारीमाथि लाग्दै आएको छ । पदाधिकारीलाई विभिन्न बहानामा घुम्न, डुल्न प्रतिष्ठानले खर्च गर्न सक्ने, तर चिकित्सक तथा कर्मचारीलाई समयमै तलब खुवाउन किन नसक्ने भन्दै प्रतिष्ठानका एक कर्मचारीले प्रश्न गरे ।

तलब खुवाउन नसके कर्मचारी तथा चिकित्सकले काम गर्न नसक्ने उनले बताए । प्रतिष्ठानले प्रत्येक महीनाको अन्तिम साता तलब दिने गरेकोमा अहिले दोस्रो महिना लागिसक्दा समेत तलब नदिएको गुनासो उनको छ ।

चिकित्सक तथा कर्मचारीको तलबभत्ताका लागि मात्रै मासिक १२ देखि १३ करोड रुपैयाँ खर्च हुने, तर पछिल्लो समय आयस्रोतमा कमी आएकाले समयमै दिन नसकिएको प्रतिष्ठानको भनाइ छ । तर चिकित्सक तथा कर्मचारीले भने पदाधिकारी भ्रष्टाचारमा लिप्त भएकाले सही समयमा तलब दिन नसकेको आरोप लगाएका छन् ।

पहिलो लहरको कोरोना महामारीले घटेको प्रतिष्ठानको आम्दानी गत असोजदेखि बढ्न थालेकोमा कोरोनाको दोस्रो लहरले पुनः खस्किएकाले समयमै तलब दिन समस्या रहेको प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले बताए । ‘आर्थिक संकट छ, आम्दानी घटेको छ, अनुदान आउँदैन,’ उनले भने, ‘समस्या आउनुका कारण यिनै हुन् ।’ उनका अनुसार प्रतिष्ठान वार्षिक ४८ करोड रुपैयाको व्ययभारमा छ । सामान्य अवस्थामा प्रतिष्ठानको आम्दानी वार्षिक करीब १ अर्ब हुने गरेकोमा अहिले मासिक औसत एक डेढ करोड हुने गरेको उनले बताए ।

जनशक्ति धेरै भएकाले पनि अहिलेको आम्दानीले धान्न नसकेको उनको भनाइ छ । पदाधिकारीले व्यक्तिगत काम लिएर काठमाडौं गई अनावश्यक खर्च नगरेको दाबी उनले गरे । ‘प्रतिष्ठानका पदाधिकारीले अनावश्यक खर्च गरेर तलब खुवाउन नसकेको भन्नु आरोप मात्र हो,’ उनले भने । प्रतिष्ठानमा आर्थिक संकट बढ्दै गएकाले अनुदानका लागि सरकारसँग पहल गरिरहेको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)