वीरेन्द्रनगर । सुर्खेतको भेरीगंगा नगरपालिकाले कोरोना संक्रमितलाई कोरोना कोसेली (अण्डा, मास्क, सेनिटाइजर) बाँड्न थालेको छ । होम आइसोलेसनमा बसेका संक्रमितलाई पौष्टिक आहाराको कमी हुन नदिने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउने उद्देश्यले कोरोना कोसेली वितरण गर्न थालिएको नगरपालिकाले बताएको छ ।
जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरू संक्रमितको घरमा पुगेर कोरोना कोसेली वितरण गर्ने र स्वास्थ्य अवस्था बुझ्ने गरेको नगरउपप्रमुख रेणु आचार्यले बताइन् । ‘संक्रमितको आत्मबल बढाउन र स्वास्थ्य अवस्था बुझ्न कोसेली लिएर जान्छौं,’ उनले भनिन्, ‘हाम्रो अभियानले कोरोना संक्रमितलाई संक्रमण मुक्त हुन र संक्रमण थप फैलिन नदिन सहयोग पुर्याउने अपेक्षा गरेका छौं ।’ होम आइसोलेसनमा बसेका सबैलाई आवश्यक स्वास्थ्य मापदण्ड पालना गराउन सकेमात्रै संक्रमण फैलिन रोकिने उनको भनाइ छ ।
अभियानमा सहभागी जनप्रतिनिधिले संक्रमितलाई रोगसँग लड्न प्रोत्साहन दिने, स्वास्थ्यकर्मीले सुरक्षा सावधानी अपनाउन सिकाउने र कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका नागरिकको स्वास्थ्य परीक्षणसमेत गर्दै आएका छन् । एक हप्तादेखि यो अभियान भेरीगंगा वडा नम्बर ६, ७, ८ र ९ वडामा जारी छ ।
नगरका उक्त वडामा संक्रमितको संख्या उच्च छ । नगरपालिकाभर हाल ९९ जना संक्रिय संक्रमित होम आइसोलेसनमा छन् । अस्पतालमा भर्ना भएका संक्रमितलाई नगरपालिकाले जनही ५ हजार रुपैयाँ दिने गरेको छ । अस्पतालमा संक्रमितलाई पोष्टिक आहारा उपलब्ध गराउन सहयोग पुर्याउने उद्देश्यले रकम दिने गरिएको नगरपालिकाले बताएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले एक करोडको कोरोना कोष स्थापना समेत गरेको छ ।