ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शीत भण्डारणले जोगियो हरियो तरकारी

२०७८ जेठ, १०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । पहिलो चरणको कोरोना महामारीमा किसानले धरानस्थित कृषि बजारमा शीतभण्डार नहुँदा करोडौं रुपैयाँ बराबरको तरकारी कुहिएर फाल्नुपर्‍यो । बन्दाबन्दीका कारण बजार बन्द हुँदा कोशी पहाडी जिल्लाबाट ल्याइएका कृषिजन्य उत्पादनको मूल्यसमेत नियन्त्रण गर्न सकिएको थिएन भने बजारमा स्टक राखिएका ५० प्रतिशतभन्दा बढी हरियो तरकारी बिक्री नहुँदा फाल्नु परेको थियो ।

अहिले भने धरानस्थित कृषि बजारलाई सहज भएको छ । दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछि सुनसरी जिल्ला प्रशासनले घोषणा गरेको जेठ १ गतेदेखिको निषेधाज्ञामा बजारमा भएका कृषिजन्य उत्पादन शीत भण्डारमा मौज्दात गरिएको छ । यसले गर्दा बजार खुलेको समय तरकारी आपूर्तिमा सहज हुनेछ भने मूल्य नियन्त्रण गर्न पनि सहज हुने देखिएको छ ।

जेठ ७ गतेदेखि पूर्ण रूपमा बन्द भएको बजार जेठ ८ गते स्थानीयको चाहनाअनुसार छलफल गरेर खुल्न सक्ने सम्भावना रहेको छ । बजार खुले पनि हरियो तरकारीसहित फलफूल आपूर्ति गर्न कुनै समस्या नरहने बजार व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् ।

उनका अनुसार शीत भण्डारमा अहिले ३० मेट्रिक टन फलफूल स्टक राखिएको छ । त्यसैगरी एक मेट्रिक टन काउली, मूला स्टक छन् ।

बजारमा आलु डेढ सय मेट्रिक टन, प्याज १ सय, दलहन, लसुनलगायत मागअनुसार खपत हुने गरी १२ मेट्रिक टन स्टक रहेको उनको भनाइ छ । अहिले पनि आपतकालीन अवस्थामा हरियो तरकारी तथा फलफूल आपूर्ति गर्न सकिने अवस्थामा रहेको उनले जानकारी दिए ।

गत मंसिरदेखि सञ्चालनमा आएको शीत भण्डार हालको निषेधाज्ञाको अवस्थामा महत्वपूर्ण रहेको भट्टराई बताउँछन् । उनले भने, ‘निषेधाज्ञा सुरु भएकै दिन पहाडबाट हरियो तरकारी आएको थियो । शीत भण्डार नभएको भए सबै कुहिएर जान्थे । अहिले स्टक राख्न सफल भएकाले कृषिजन्य उत्पादन खेर जान पाएनन् ।’

प्रदेश १ सरकारको ५० लाख र कृषि बजारको २५ लाख गरी ७५ लाख रुपैयाँको लागत साझेदारीमा पाइलट प्रोजेक्टको रूपमा शीत भण्डार सञ्चालनमा आएको हो । शीत भण्डारमा ६ देखि ८ महिनासम्म फलफूल राख्न सकिनेछ । तीन वटा च्याम्बर रहेको शीत भण्डारको प्रत्येक च्याम्बरको २५ मेट्रिक टन क्षमता रहेको भट्टराईले बताए ।

एउटा च्याम्बर किसानको आरक्षणका लागि सुरक्षित गरिएको छ । एक पटक तापक्रम मिलाएपछि कुन फलफूल, तरकारीलाई कति चिसो चाहिन्छ, सोहीअनुसार स्वचालित रूपमा सञ्चालन हुने शीत भण्डारले कृषक, उपभोक्ता र व्यापारीलाई फाइदा पुगेको भट्टराईको दाबी छ ।

बन्दका बेला पनि आवश्यक परे बिक्री वितरण गर्न सहज बनाएको उनले बताए । कुनै आपतकालीन अवस्था वा बजार खुलेको दिनमै पनि स्टकमा रहेका तरकारी बिक्रीमा समस्या नहुने उनी बताउँछन् । बजार खुले पनि मूल्य नियन्त्रण गर्न सहज हुने उनको तर्क छ ।

धरानमै शीत भण्डार नहुँदा पूर्वी पहाड र अन्य क्षेत्रबाट ल्याइएका फलफूल र तरकारी कुहिनबाट जोगाउन विराटनगरको शीत भण्डार पुर्‍याउनुपर्ने बाध्यता थियो । धरानमै शीतभण्डार भएपछि ढुवानी खर्च मात्र होइन, शुल्कमा पनि राहत मिलेको छ । मूल्य उच्च भएका बेला शीत भण्डारबाट निकालेर बेच्न सकिनेछ ।

बन्द–हडताल भएका बेला वा बिक्री नभएका बेला सिजनअनुसारका फलफूल, तरकारीलाई शीत भण्डारमा राखेर केही सातापछि बिक्री गर्न सकिने वातावरण बल्ल बनेको व्यापारीहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)