ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना संक्रमितलाई संघको स्वास्थ्य सामग्री सहयोग

२०७८ जेठ, ११  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । नेपाल आयुर्वेद औषधी व्यवसायी संघ कर्णाली प्रदेशले आइसोलेसनमा उपचाररत कोरोना संक्रमित बिरामीका लागि औषधी तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

संघले प्रदेश आयुर्वेद औषधालय सुर्खेत परिसरमा सञ्चालित प्राकृतिक वातावरणसहितको आइसोलेसनमा उपचाररत बिरामीका लागि करिब ५२ हजारभन्दा बढी मूल्यको रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधीसहित स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

नेपालमै पहिलो पटक सुर्खेतस्थित प्रदेश आयुर्वेद औषधालय परिसरमा सञ्चालित प्राकृतिक वातावरणसहितको आइसोलसनमा उपचाररत कोरोना संक्रमितलाई सामाजिक उत्तरदायित्वअन्तर्गत औषधी तथा स्वास्थ्य सामग्री सहयोग गरेको संघका कर्णाली प्रदेश अध्यक्ष पूर्णप्रसाद आचार्यले बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणमा आयुर्वेद औषधीको प्रभावकारिता र महत्व बढिरहेका बेला संघले संक्रमितलाई रोगबाट छिटो राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको उनले जानकारी दिए । ‘प्रदेश आयुर्वेद औषधालय र नेपाल आयुर्वेद औषधी व्यवसायी संघबीच राम्रो सम्बन्ध छ,’ उनले भने, ‘आयुर्वेदको प्रभावकारिताबारे जडीबुटीको धनी प्रदेश कर्णालीमा औषधी बिक्री गर्नु मात्र नभई नागरिकलाई आयुर्वेदको प्रयोग र महत्वबारे बुझाउन प्रयासरत छौं ।’

हरेक बिरामीका लागि पारम्परिक भए पनि आयुर्वेदको महत्व पहिले र अहिले पनि उत्तिकै रहेको उनको दाबी छ । आगामी दिनमा समेत कोरोना रोकथाम तथा नियन्त्रणका लागि आयुर्वेदको महत्वलाई बुझेर औषधी तथा स्वास्थ्य सामग्री थप सहयोग गरिने उनले बताए ।

संघद्वारा सहयोग गरिएको औषधी तथा स्वास्थ्य सामग्री बुझ्दै औषधालयका प्रमुख डा. शंकरप्रसाद रेग्मीले कोरोना रोकथाम तथा नियन्त्रणमा संघको समेत भूमिका उच्च रहेकाले जवाफदेहितासहित महामारीबाट सिर्जित संकटविरुद्ध औषधालयसँग सहकार्य गर्न आग्रह गरे ।

औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले महामारीका बेला मानवीय मूल्य–मान्यतालाई प्राथमिकता दिँदै मानव सेवामा जुट्न आग्रह गरे । उनले कोरोनाको विश्वव्यापी संकटका बेला आयुर्वेद औषधी बिक्रेताद्वारा आइसोलेसनमा उपचाररत बिरामीलाई गरेको सहयोगले राहत पुग्ने विश्वास व्यक्त गरे ।

औषधी तथा स्वास्थ्य सामग्री वितरण कार्यक्रममा संघका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक एवं सुर्खेतका पदाधिकारीलगायत सहभागी थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)