जेठ १२, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले खाद्यान्न ढुवानीका लागि करीब साढे २ करोड बजेट छुट्याएको छ । सरकारले ८ हजार ३०० क्विन्टल खाद्यान्न ढुवानीका लागि २ करोड ४७ लाख ९८ हजार रुपैयाँ छुट्याएको हो ।
तत्कालका लागि मुगु, हुम्ला र डोल्पामा खाद्यान्न ढुवानीका लागि खाद्य प्रविधि तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतलाई उक्त बजेट दिने निर्णय गरेको प्रदेश सरकारका प्रवत्ता सीताकुमारी नेपालीले जानकारी दिइन् ।
अनुदान स्वरुप दिइने उक्त बजेट कम्पनीलाई उपलब्ध गराउन सोमवार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति दिएको छ ।
त्यस्तै खाद्यान्न कार्यक्रम सञ्चालन भइरहेका कालिकोट र डोल्पामा पनि थप खाद्यान्न खरीद गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । खाद्यान्न खरीदका लागि आवश्यक बजेट स्थानीय तहलाई उपलब्ध गराउन पनि सोही मन्त्रालयलाई स्वीकृति दिएको छ ।
कर्णाली प्रदेशमा भोकमरी टार्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालू आर्थिक वर्षमा डोल्पा, हुम्ला, जुम्ला, मुगु र कालिकोटका लागि ४१ हजार २०० क्विन्टल खाद्यान्न स्वीकृत गरेको छ । तर कोरोना महामारीका कारण भोकमरी पर्ने डरले डोल्पा, हुम्ला, मुगु र जुम्लामा थप खाद्यान्न माग गरेका छन् ।
महामारीका कारण चीनबाट खाद्यान्न आपूर्ति बन्द हुनु र अधिकांश नागरिकहरू गाउँ फर्किएपछि डोल्पा, हुम्ला, मुगु र जुम्लाले थप ४० हजार क्विन्टल खाद्यान्न माग गरेका छन् । जसमध्ये मुगुले १८ हजार, हुम्लाले १६, डोल्पा र जुम्लाले ३–३ हजार क्विन्टल खाद्यान्न माग गरेका छन् । वर्षेनी खाद्यान्न संकट पर्ने कर्णाली प्रदेशमा यो वर्ष कोरोना महामारीका थप संकट पर्ने अनुमान गरिएको छ ।