धनकुटा । दोस्रो चरणको कोरोना महामारीको सन्त्रासपछि गरिएको निषेधाज्ञाले आन्तरिक तथा बाह्य पर्यटक आगमन ठप्प भएपछि पूर्वका होटल व्यवसायी संकटमा परेका छन् । धनकुटालगायत प्रदेश १ का पर्यटकीय स्थलका होटल व्यवसायी संकटमा परेका हुन् ।
हरेक वर्ष यो समय भरिभराउ हुने प्रदेश १ का पर्यटकीय स्थल धनकुटाको भेडेटार, हिले, पाख्रिबास, संखुवासभा तेह्रथुम र ताप्लेजुङको संगम स्थल गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टीएमजे), सुनसरी र उदयपुरको सिमानामा पर्ने कोशीटप्पु, मोरङको बेतना सिमसार क्षेत्र, सुनसरीको तालतलैया, सुनसरीकै बराह क्षेत्र–विजयपुर र इलामको कन्याम अहिले सुनसान छन् ।
होटल व्यवसाय बन्द भएपछि ती ठाउँमा होटलबाट हुने दैनिक १ करोड रुपैयाँभन्दा बढीको कारोबार ठप्प भएको व्यवसायी बताउँछन् ।
कोरोनाको दोस्रो लहरका कारण पर्यटक व्यवसायमा ठूलो धक्का लागेको र सहज परिस्थिति आए पनि उठ्न निकै समय लाग्ने तेह्रथुमको वसन्तपुरका होटल व्यवसायी हिमराज कटुवालले बताए ।
क्षेत्रीय होटल एसोसिएसन धनकुटाका अध्यक्ष तथा होटल हिले भ्यूका सञ्चालक खगेन्द्र विष्ट गत वर्ष भएको पहिलो चरणको बन्दाबन्दीले थिलथिलो बनेको होटल व्यवसाय पछिल्लो समय केही सुधार हुँदै आए पनि दोस्रो चरणको कोरोना सन्त्रासले थप मारमा परेको बताउँछन् ।
सरकारले होटल व्यवसाय गर्नेलाई कम ब्याज दरमा ऋण दिने व्यवस्था गरेअनुसार धेरै होटल खोलिए पनि पुनः कोरोनाले लपेटेपछि ऋणको ब्याज कसरी तिर्ने भन्नेमा होटल व्यवसायी चिन्तित रहेको उनको भनाइ छ ।
धनकुटा होटल एसोसिएसनमा १ सय ३० होटल आबद्ध छन् भने दैनिक ४० लाखभन्दा बढीको कारोबार हुने गरेको उनको भनाइ छ । सिजनमा धनकुटाको भेडेटारमा दैनिक करिब ५ हजार आन्तरिक तथा बाह्य पर्यटक घुम्न आएको होटल एसोसिएसन भेडेटारको अनुमान छ ।
पूर्वी तराईको बढ्दो गर्मीलाई पनि बिर्साइदिने प्रदेश १ कै पर्यटकीय स्थल भेडेटारमा नयाँ वर्षमा पर्यटक खचाखच हुने गरेका थिए । तर, दोस्रो चरणको कोरोना संक्रमणसँगै भएको निषेधाज्ञाका कारण भेडेटार सुनसान छ ।
भेडेटार मात्रै होइन, नजिकैको शैलुङ डाँडा, चाल्र्स प्वाइन्टको भ्यू टावर, नमस्ते झरना पनि सुनसान छन् । त्यस्तै, भेडेटार पुगिसकेपछि अढाई किलोमिटर पूर्वको नाम्जे गाउँ र आत्मा बस्ने घर पनि सुनसान छन् ।
अमेरिकी समाचार संस्था सीएनएनले विश्वको उत्कृष्ट बाह्रौमध्ये आठौं गन्तव्यमा राखेपछि सुरु भएको नाम्जे गाउँको चर्चा कोरोनाले सुनसान बनाएको छ ।
कोरोनाका कारण नाम्जेमा सञ्चालित घरबाससमेत बन्द भएको होमस्टे सञ्चालक समिति अध्यक्ष अनिल रानामगरले जानकारी दिए ।
नाम्जेमा सञ्चालित होमस्टे गत वर्ष नेपालकै उत्कृष्ट होमस्टेको रूपमा पुरस्कृत भएको थियो । अहिले पर्यटकका लागि मुख्य समय फेब्रुअरी, मार्च, अप्रिल र मे महिना धेरै उपयुक्त भएको अवस्थामै कोरोना सन्त्रासले आउजाउ ठप्प भएपछि समस्यामा पर्दै आएको व्यवसायी बताउँछन् ।
दैनिक १५ लाखको आर्थिक कारोबार हुने भेडेटार कोरोनाका कारण ठप्प भएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।
कोरोनाकै कारणले हालै मात्रै सञ्चालनमा आएको भेडेटार देवीथान जीपलाइन बन्द भएको छ । यस्तै, निषेधाज्ञाले निजी कम्पनी वल्र्ड वाइड ग्रुपको सहभागितासहित करिब २५ करोड रुपैयाँ लगानीमा बनाइन लागेको स्काई वक निर्माण प्रभावित भएको छ ।
कोरोनाकै कारण भेडेटार र आसपासका क्षेत्रमा सञ्चालित होटल बन्द हुँदा बैंकको किस्ता तिर्न र होटल मजदुरको तलब खुवाउन समस्या भएको अध्यक्ष राई सुनाउँछन् ।
कोरोना भाइरस कै कारणले संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा तिनजुरे मिल्के जलजले, सुनसरी उदयपुरको सिमानामा पर्ने कोशीटप्पू, मोरङको बेतना सीमसार क्षेत्र, सुनसरीको तालतलैया, बराह क्षेत्र र इलाम कन्याम पनि सुनसान भएका छन् ।