सुर्खेत । सुर्खेत डेरी उद्योगले कोभिड–१९ विरुद्धको लडाइँमा सहयोग गर्ने उद्देश्यले प्रदेश आयुर्वेद औषधालयको कोरोना आइसोलेसनमा उपचाररत बिरामीका लागि निःशुल्क दूध र मही उपलब्ध गराउने भएको छ ।
उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९ का बिरामीलाई उपचार गर्दै आएको प्रदेश आयुर्वेद औषधालयलाई दैनिक ६ लिटर दूध र सातामा एक दिन मही निःशुल्क उपलब्ध गराउने भएको हो ।
कोरोना संक्रमित भएर उपचारका लागि आइसोलेसनमा रहेका बिरामीलाई एक महिनासम्म दूध र मही सहयोग गरिने उद्योगका प्रबन्ध निर्देशक माधव धिताले बताए । उनले कोरोना महामारीका बेला ठूलो सहयोग गर्न नसकिए पनि सामथ्र्यले भ्याएसम्म उद्योगले सामाजिक उत्तरदायित्व वहन गरेको जानकारी दिए ।
‘प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिले कोरोना संक्रमित भएर टाढा–टाढाबाट उपचारका लागि आएका बिरामीलाई एक दिन मही सहयोग गर्न फोनमार्फत आग्रह गरेको हो,’ उनले भने, ‘विपद् घडीमा कोरोनाले प्रताडित नागरिकका लागि एक महिना निःशुल्क दुध र मही उपलब्ध गराउने वचन दिएका हौं ।’
प्रदेश आयुर्वेद औषधालयका डा. शंकरप्रसाद रिजालले औषधालयको आग्रहलाई स्वीकारेर सुर्खेत डेरी उद्योगले कोरोना संक्रमितका लागि निःशुल्क दूध र मही उपलब्ध गराएकामा धन्यवाद दिए । औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले मुनाफा मात्र नहेरी सुर्खेत डेरी उद्योगले सुरुदेखि नै समाज सेवा गर्दै आइरहेको बताए ।