जेठ १६, धनकुटा । सप्तकोशी नदीमा पानी जहाजले चर्चा पाएको जेटबोट कोभिड-१९ को कारण बन्द भएको छ ।
स्थानीय प्रशासन र सेवा प्रदायकबीच भएको सम्झौता अनुसार कोरोनाको नयाँ लहर शुुरु भएसँगै बन्द गर्दा दैनिक दुई लाख घाटा हुने गरेको जेट बोट सञ्लकको भनाइ छ ।
यात्रु तथा पर्यटकलाई कोरोरो संक्रमणबाट बचाउन जेटबोट बन्द गर्दा दैनिक दुईलाख क्षति भएको बहरा क्षेत्र म्यारिन एण्ड रिसोर्ट प्रालिका सञ्चालक नविन पौडेल बताए । उनले भने, ‘मेरो ४ ओटा जेटबोट थियो, अन्य ३ ओटा गरी जम्मा दैनिक चल्ने ७ ओटा जेटबोट बन्द भएको छ, जसको कारण दैनिक दुईलाख क्षति भएको छ ।’ सप्तकोशीमा तीन सिट, आठ सिट, १८ सिट र ७० सिट क्षमताका जेटबोट सञ्चालन हुँदै आएको छ ।
नेपालको पानीजहाज भनेर प्रचार गरिएका यी जल यात्राका साधनले स्थानीय तथा वाह्य पर्यटकलाई जलयातयातको महशुस गराउनुको साथै सुनसरी र उदयपुरको सिमाक्षेत्रमा पर्ने चतरादेखि धनकुटा, भोजपुर र संखुवासभालगायत पहाडी भेगका बासिन्दाको लागि यातायात सेवा पर्याउँदै आएको थियो ।
जलयात्रा गर्ने आन्तरिक पर्यटकहरुको पहिलो रोजाई बन्दै गएको उक्त सेवा कोरोना महामारीले रोकिएपछि सामान्य बनेपछि पुनः सञ्चालनमा ल्याइने पौडेलको भनाइ छ । उनले दैनिक ५०० यात्रुले यात्रा गर्दै आएको समेत जानकारी दिए ।
उनले भने, ‘सरकारले चाह्यो भने दोलालघाटसम्म जेटबोटबाट यात्रु आवतजावत गर्न गराउन सकिन्छ तर नदीका बीचमा रहेका ढुंगाहरु सरकारले पन्छाइ दिनुपर्छ ।’ पर्यटक गाइडका रुपमा काम गर्दागर्दै उनले दुई दशक अघिदेखि नेपालका विभिन्न नदीमा मोटरबोट र जेटबोट चलाउन शुरु गरेका हुन् ।
पहिलो चरणमा भोजपुुरको हतुवागडीस्थित भसुवासम्म पुगि रहेको जेटबोटका लागि दूधकोशीको बाधा पन्छाउने हो भने उदयपुरको बेलका नगरपालिका–७ र भोजपुरको हतुवागढी गाउँपालिका–९ को लाम्पातेसम्म पुग्न सकिने बताए ।
उनका अनुसार अरुण नदीबाट अझै टाढाको दूरीमा पर्ने तुम्लिङटारसम्म जेटबोट सञ्चालन गर्न नदीको बीचमा रहेको दुईओटा अब्स्ट्याकल (ढुंगा) ब्लास्ट गर्नुपर्ने र दूधकोसी (सुनकोसी) बाट दोलालघाट पुग्नका लागि एउटा ढुंगा ब्लास्ट गर्नु पर्नेछ । जेटबोटले भोजपुरका हतुवागडी, आमचोक, धनकुटाको सहिद भूमि गाउँपालिका सहित भोजपुर–खोटाङका दक्षिणी भेगका स्थानीयलाई छोटो दूरीमै सुनसरीको बराह क्षेत्रसँग जोडिदिएको छ ।
पानी जहाज सञ्चालन तथा नियमन सम्बन्धी कानून बनेन
प्रधानमन्त्री लगायत विभिन्न पार्टीका नेताले पानी जहाजको सपना बाँडेको धेरै वर्ष भयो । संघीय सरकारले पानी जहाज कार्यालय पनि स्थापना गरिसकेको छ । तर, पानी जहाज सञ्चालन तथा नियमन सम्बन्धी कानून अझैसम्म बनेको छैन ।
खोटाङका लिकुवापोखरी, भञ्ज्याङ, काउलेदेखि चिसापानीसम्मका स्थानीय एकै घण्टामा सुनसरीको चतरा आइपुग्न सकिन्छ । चतराबाट चिसापानी हिँडेर जाने हो भने तीन दिनसम्म लाग्छ ।
यी क्षेत्रहरुबाट चतरासम्म आइपुग्न याफटिङमा करीब ८ घण्टा लाग्छ । बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका सञ्चालक अध्यक्ष सन्तोष भण्डारी र निर्देशक अमित भगतले सरकारले जल यातायातलाई सहज बनाउँदै स्थानीय यात्रुलाई अर्को क्षेत्रसँग जोड्नका लागि जेटबोट वैकल्पिक यातायातको साधन भएकाले जल यातायात सम्बन्धि नीति बनाउनु पर्ने माग गरे ।
हालसम्म निजी क्षेत्रबाट कोशी, अरुण र दूधकोशीमा जल यातायात्र सञ्चालन भइरहेको छ । तर व्यापक रुपमा जेटबोट सञ्चालन गर्न नदीका अब्स्ट्याकल हटाउन सरकारले नै पहल गर्नुपर्छ,’ उनका अनुसार जेटबोटले पूर्वका मुख्य सहरसँगको दूरी निकै कम बनाएको छ ।
सार्वजनिक सवारी साधनबाट घण्टौं समय लाएर सहर पस्नु पर्ने यात्रुले अब जल यातायातको माध्यमबाट २० मिनेटको समयमै ठूलाठूला पहाड र अक्करे भिरहरु छिचोल्न सकेका छन् । तर जेटबोटको सम्भावना र यात्रुहरुको सुविधा यतिमा मात्र पर्याप्त छैन ।
अरुणतिरबाट जाँदा सिम्ले र अखुवाटारको बीचमा पर्ने छहरालाई ‘कटिङ’ गरेर ‘साइट लाइन’ सारेमा तुम्लिङटारसम्म सहजै पुग्न सकिने भगतले बताए । पानीजहाज सञ्चालन भएको एक वर्ष बित्न लागे पनि अझैसम्म कानून निर्माण नभएका कारण विभिन्न खालका समस्या देखिएको बराहक्षेत्र म्यारिन एन्ड रिसोर्टका अध्यक्ष नविन पौडेलले प्रदेश १ का सांसदहरु समक्ष गुनासो गरेका छन् ।