ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तरकारी बेच्ने समय थप गर्न खुद्रा व्यापारीको माग

२०७८ जेठ, १७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

जेठ १७, धरान । धरानका खुद्रा व्यापारीले घरघरमै पुगेर कृषिजन्य उत्पादनहरु विक्री गर्ने समय थप गर्नुपर्ने माग गरेका छन् । लकडाउनकै समयमा पनि धरानस्थित कृषि बजारबाट बिहान ४ बजे देखि ६ बजेसम्म कृषिजन्य उत्पादनहरु विक्री वितरण हुने गरेको छ ।

बिहानै ३ बजे खुद्रा व्यापारीहरु डोको, साइकल वा टेम्पो लिएर कृषि बजार पुग्ने गरेका छन् । तर प्रहरीले खाली डोको, साइकल तथा टेम्पोलाई रोक्ने गरेको व्यापारीको भनाइ छ । ‘बजार पुगेकै हुँदैन, कसरी भरेको देखाउनु’ एक खुद्रा व्यापारीले दुखेसो पोखे । अनावश्यक हिड्डुल नगर्न प्रशासनले उर्दी जारी गरे पछि खुद्रा व्यापारीले प्रहरीबाट सास्ती भोग्नु परेको उनी बताउँछन् । 

खुद्रा व्यापारीहरुलाई प्रहरीबाट मात्रै होइन, विक्री गर्ने समय पनि अनुकुल नभएको उनीहरुको भनाइ छ । कृषि उपज बजारमा थोकमा खरीद गरिएको उपभोग्य वस्तुहरु खुद्रा व्यापारीहरुले घर घरमै पुर्‍याएर बेच्न प्रशासनले बिहान ६ बजेदेखि ८ बजे सम्मको समय दिएको छ । 

बिहान ४ बजेदेखि ६ बजेसम्म कृषि बजारबाट खरीद गरिएका सामान ८ बजेसम्म विक्री गर्नुपर्ने बाध्यतामा छन्, उनीहरु । प्रशासनले दिएको दुई घण्टामा तरकारी विक्री नभए घरमै थन्क्याउनु पर्ने खुद्रा व्यापारी रामेश्वर चौधरी बताउँछन् । उनी भन्छन्, ‘बजारबाट थोकमा खरीद गरिएको सामान खुद्रामा विक्री गर्न बजार घुम्नुपर्छ, बजार घुम्दा प्रहरीको डर छ, अर्को सामान पुरै विक्री नहुँदा सामान कुहिने डर छ ।’ खुद्रा व्यापारीहरुले घर घरमै सामान पुर्‍याउन सहज बनाउनु पर्ने उनको भनाइ छ । 

होम डेलिभरीका लागि खुला भएको समय कम भएको गुनासो खुद्रा व्यवसायीहरुले कृषि उपज बजारका व्यवस्थापक समक्ष पनि गुनासो गरेका छन् । ८ बजेभित्र समय कम भएको गुनासो आएको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । 

यता प्रहरीले खुद्रा व्यापारीलाई विक्री वितरण गर्न कुनै रोक नलगाएको जानकारी दिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक हेमराज वलीले प्रशासनले तोकेको समयभित्र विक्री वितरण गर्न कुनै समस्या नभएको उनी बताउँछन् । उनले भने, ‘निश्चित समय भन्दा पछि चै हामीले रोक्ने गरेका छौं, तर कसै सँग पनि दुव्र्यवहार गरिएको छैन ।’

धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले अवस्था अनुसार समय फेरबदल गर्न सम्बन्धित निकायहरुसँग छलफल गरिने बताइन् । उनले भनिन्, ‘प्रशासनको नियम सबैले पालना गर्नैपर्ने हुन्छ, धरानको हकमा केही अवस्था हेरेर स्थानीय निकायले सहजीकरण गर्नेछ ।’

लकडाउनको समयमा प्रशासनले होम डेलिभरीका लागि छूट दिएको समय केही थप गर्दै व्यवस्थापन गर्न सके नागरिकलाई पनि सहज हुने व्यापारीहरुको दाबी छ । स्वास्थ्य मापदण्ड अपनाएर व्यापार गर्न पाउने व्यवस्था गर्न उनीहरुको माग रहेको छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)