जेठ १७, सुर्खेत । संघीय सरकारले कर्णाली प्रदेशका पाँच ओटा अस्पताललाई ११ करोडभन्दा बढी रकम सुनिश्चित गरेको छ । आइसियु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयबाट ११ करोड ४० लाख रुपैयाँ सुनिश्चित गरिएको हो ।
कोभिड–१९, का कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आइसियु र आइसियु भेन्टिलेटरको थप व्यवस्था गर्न उक्त रकम खर्च गरिने छ । सरकारले रुकुम पश्चिमको मुसिकोट अस्पताल, मुगु अस्पताल र सुर्खेतको मेहलकुना अस्पताललाई तीन/तीन करोड रुपैयाँ पठाएको छ ।
थप आइसियु भेन्टिलेटरका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, र प्रदेश अस्पताल सुर्खेतलाई १ करोड २० लाख रुपैयाँका दरले स्रोत रकम सुनिश्चित गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुरुप अर्थ मन्त्रालयले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि बजेट सुनिश्चित गरेको हो । सरकारले कर्णाली प्रदेशसहित देशभरका ४१ ओटा अस्पतालका लागि १ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको हो ।