ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

करीब डेढ अर्बको बजेट बनाउँदै धरान

कोभिड नियन्त्रण प्राथमिकतामा

२०७८ जेठ, २३  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । कोरोना महामारीले आन्तरिक आय प्रभावित भएपछि धरान उपमहानगरपालिकाले पुरानै योजनालाई निरन्तरता दिएर बजेट ल्याउने भएको छ । कोभिड नियन्त्रणलाई प्राथमिकतामा राखेर उपमहानगरले आर्थिक वर्ष २०७८/७९ का लागि करीब डेढ अर्बसम्मको बजेट बनाउने तयारी गरेको हो ।

असार १० गतेसम्म बजेट तथा कार्यक्रम सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था रहेकाले उपमहानगरको राजस्व परामर्श समितिले बजेटको तयारी शुरू गरिसकेको छ । समितिकी संयोजक तथा उपमेयर मञ्जु भण्डारी सुवेदीले आन्तरिक आय न्यून रहेकाले पुरानै योजनालाई निरन्तरता दिँदै कोभिड नियन्त्रणलाई प्राथमिकतामा राखेर बजेट ल्याइने बताइन् । उनका अनुसार चालू आवको अनुमानित आय ५४ करोड रहेकोमा १४ करोड मात्रै संकलन भएको छ ।

‘अघिल्लो वर्षको घाटा पूर्ति गर्दै चालू आवको योजनालाई नै निरन्तरता दिएर बजेट आउँछ,’ उनले भनिन्, ‘राजस्व परामर्श समितिको काम सकिएको छ, सिलिङ वितरण गर्नेछौं, अघिल्लो आवको व्ययभारलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल गरिरहेका छौं ।’ कोभिड नियन्त्रणका लागि आइसोलेसन, अक्सिजन सिलिण्डर, स्वास्थ्य उपचारलाई प्राथमिकतामा राख्नेगरी बजेटको तयारी गरिएको उनले बताइन् ।

धरानको बजेटका लागि संघीय सरकारबाट ५० करोड ४५ लाख ८६ हजार र प्रदेशबाट ३ करोड ८४ लाख २२ हजार ९५० रुपैयाँको सिलिङ प्राप्त गरेको छ । संघीय सरकारले समानीकरणतर्फ ३३ करोड ९२ लाख, राजस्वबाट ८ करोड २६ लाख ९३ हजार र अन्तःशुल्कबापत पनि ८ करोड २६ लाख ९३ हजार बजेट विनियोजन गरेको छ । त्यसैगरी प्रदेश सरकारबाट समानीकरणतर्फ २ करोड १ लाख ४७ हजार र सवारी करबापत १ करोड ८२ लाख ७५ हजार ९ सय ५० रुपैयाँको सिलिङ प्राप्त गरेको छ ।

संघीय र प्रदेश सरकारबाट आएको बजेटको आधारमा उपमहानगरको बजेट बनाउने तयारी भइरहेको मेयर तिलक राईले जानकारी दिए । ‘अघिल्लो वर्ष अनुदानबाट आउने रकम पनि आएन, यो वर्ष आउँछ भन्ने आशा छ, त्यसलाई पनि आधार बनाएर बजेट बनाउनेछौं,’ उनले भने । बजेट यथार्थपरक बन्ने र गतवर्षको भन्दा सानो आकारको हुने उनले बताए । चालू आवमा धरान उपमहागनरपालिकाको बजेट १ अर्ब ७७ करोड ९१ लाख रुपैयाँ रहेको छ । त्यसमध्ये हालसम्म ४० प्रतिशत मात्रै खर्च भएको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)