ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मकैमा फौजी किराको प्रकोप : दोस्रो पटक मकै रोप्दै किसान

२०७८ जेठ, २६  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

जेठ २६, सल्यान । सल्यानमा किसानले लगाएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । यस वर्ष जिल्लाको सिद्ध कुमाख गाउँपालिकाका किसानले लगाएको मकैमा फौजी किराको प्रकोप देखिएको हो । मकै बालीबाट राम्रो आम्दानी लिदैँ आएका किसानहरु फौरी किराले बोट सखाप पार्न थालेपछि चिन्तित भएका छन् । 

सिद्ध कुमाख गाउँपालिका वडा नम्बर १ बाँझकाँडामा किसानले लगाएको मकैमा फौजी किराको प्रकोप देखिएको हो । मकै गोड्ने बेलामा फौजी किराको प्रकोपले समस्या बनाएको धानटाकुराका किसान दुर्पत बुढाथोकीले जानकारी दिए । 

‘फौजी किराले मकै सखाप पारेको छ, राम्रो उत्पादन हुने भएपछि हामीले मकै रोपेका थियौँ, बिगतमा यस्तो प्रकोप थिएन्, पहिलोपटक मकैमा यस्तो समस्या देखा परेको छ’ उनले भने ।

मेलबोटका किसान देवी बुढाथोकीले किराले मकै सखाप पार्न थालेपछि कतिपय किसानले दोस्रो पटक मकै रोपेको जानकारी दिईन् । बाँझकाँडाका करीब १०० बढी किसानले लगाएको मकैमा फौजी किराको प्रकोप देखा परेको सिद्ध कुमाख गाउँपालिकाको कृषि शाखाले जानकारी दिएको छ । 

नायव प्राविधिक सहायक चन्द्र बहादुर केसीले सिद्ध कुमाख गाउँपालिका वडा नम्बर १ बाँझकाडाका अधिकांश किसानले रोपेको मकैमा फौजी किराको प्रकोप रहेको जानकारी दिए ।  

उनले केही किसानले लगाएको मकैमा फेद कटुवा किराको प्रकोप देखिएपनि अधिकांश किसानले रोपेको मकैमा अमेरिकन फौजी किराको प्रकोप रहेको बताए । उनले किरा नियन्त्रणका लागि यहाँका २३ ओटा समूहलाई इमाभेटिन बेन्जोएट नामक विषादी वितरण गरिएको जानकारी दिए ।

यता कृषि विकास कार्यालय सल्यानले जिल्लामा अहिलेसम्म फौजी किराको प्रकोप देखिएको बारेमा कार्यालयमा खबर नआएको जानकारी दिएको छ । कार्यालयका प्रमुख महेश आचार्यले मकैको फेद कटुवा किराको बारेमा जानकारी आएको तर फौजी किराले गरेको असरका बारेमा अहिलेसम्म जानकारी नआएको बताए । 

फेद कटुवा किराले मकैको डाँठ नै काट्ने भएकाले समस्या हुने गरेको भएपनि फौजी किरालाई भने सुरुवाती चरणको अवस्थामा नियन्त्रण गर्न सकिने उनले बताए । ‘हामी कहाँ शारदा नगरपालिकाका २÷३ ठाउँबाट मकैमा किराको प्रकोप देखिएको बारेमा खबर आएको थियो, बुझ्दै जाँदा फेद कटुवा किराको प्रकोप रहेछ’ उनले भने ।

उनले फेद कटुवा किरा दिउँसो बोटको मुनि जरा आसपासमा बस्ने र रातको समयमा डाँठ नै काट्ने भएकाले किसानलाई बढी समस्या हुने बताए । उनले फौजी किराले मकैको पात, गुभो लगायतका भाग खाने भएकाले विषादी प्रयोग गरेर नियन्त्रण गर्न सकिने जानकारी दिए । जिल्लाभर करीब १९ हजार ३०० हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)