वीरेन्द्रनगर । साविक कर्णाली अञ्चलका सबै जिल्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । पछिल्लो पटक कालीकोटमा राष्ट्रिय प्रणालीको विद्युत् पुगेको हो ।
दैलेखको दुल्लुबाट ११ केभी विद्युत् लाइन विस्तार भएसँगै कालीकोट राष्ट्रिय विद्युत् प्रसारणमा जोडिएको कालीकोट वितरण केन्द्रका प्रमुख मेकराज जोशीले वताए । ‘सोमवार राति १० बजे लाइन छोडेका छौं,’ जोशीले भने, ‘तत्काललाई ११ केभीए मात्रै छ, हप्ता दिनमै ३३ केभीए पु¥याउने तयारी हुँदै छ ।’ उनका अनुसार ३३ केभीए विद्युत् पु¥याउन दैलेख–दुल्लु खण्डमा काम भइरहेको छ ।
राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेसँगै कालीकोटमा लोडसेडिङको अन्त्य भएको छ । यसअघि जिल्लाको मान्मा बजार क्षेत्र र आसपासमा जेनेरेटरबाट उत्पादित विद्युत् वितरण गरिँदै आएको थियो । ‘पहिले आलोपालो गरेर दिनमा ६ घण्टा मात्रै विद्युत् छाड्थ्यौं,’ वितरण केन्द्रका प्रमुख जोशीले भने, ‘सोमवारदेखि लोडसेडिङको अन्त्य भएको छ, अब २४ घण्टा नै बत्ती आउँछ ।’
गतवर्षसम्म कालीकोटमा पोतमारा जलविद्युत केन्द्रबाट विद्युत् वितरण हुँदै आएको थियो । गत साउनमा आएको बाढी पहिरोले विद्युत्गृह बगाइदिएपछि मान्मामा जेनेरेटरबाट विद्युत् वितरण हुने गरेको थियो । जिल्लामा यसअघि नै खाँडाचक्र नगरपालिका र सानीत्रिवेणी गाउँपालिकामा विद्युत् लाइन पुगिसकेकको छ । हाल कालीकोटमा ३८ सयभन्दा बढी विद्युत् उपभोक्ता छन् ।
कोरोनाको अवस्था सहज भएपछि थप ग्राहक (मिटर बक्स वितरण) बढाइने बताइएको छ । कोरोनाका कारण मिटर बक्सहरू जिल्लामा पुगेका छैनन् । दैलेखदेखि कालीकोटसम्मको दूरी झण्डै ३ सय किलोमिटर पर्छ । कर्णाली प्रदेशका मुगु, जुम्ला, हुम्ला र डोल्पामा भने अझै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छैन ।