ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानको त्रिवेणीमा किसान सूचीकरण अभियान

२०७८ जेठ, २८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकामा किसान सूचीकरण अभियान सुरु गरिएको छ । वास्तविक किसानको पहिचान गरेर राज्यबाट पाउने सेवा–सुविधाको पहुँच बढाउन सहयोग पु¥याउने उद्देश्यले त्रिवेणी गाउँपालिकाले किसान सूचीकरण अभियान सुरु गरेको हो ।

गाउँपालिकाका ६ वटै वडामा गणक परिचालन गरेर किसान सूचीकरण गर्न थालिएको छ । गाउँपालिकाभित्रका सबै किसानको सूचीकरण गर्ने लक्ष्य रहेकामा यो वर्ष २ हजार ४ सय किसानलाई सूचीकरण गरिनेछ । अहिले गाउँपालिकाभित्रका ४ सय ६७ जना किसानको तथ्यांक संकलन गरेर अनलाइनमार्फत अध्यावधिक गर्ने काम सकिएको गाउँपालिकाको पशु शाखा प्रमुख वसन्त रावतले जानकारी दिए ।

किसान सूचीकरणपछि किसानलाई १३ अंकको राष्ट्रिय किसान परिचयपत्र प्रदान गरिने उनले बताए । अभियानलाई गाउँपालिकाले कृषिको व्यावसायिकीकरण र आधुनिकीकरणको महत्वपूर्ण प्रयासका रूपमा हेरेको उनको भनाइ छ । कृषि क्षेत्रलाई सम्मानित पेसाका रूपमा रुपान्तरण गर्न यसले मद्दत गर्ने विश्वास व्यक्त गरे ।‘गाउँपालिकामा भर्ना गरेका गणकले किसानको तथ्यांक संकलन गरेर अनलाइनमा अध्यावधिक गराइरहेका छन् । त्यसपछि गाउँपालिकाले किसानको विवरण प्रमाणित गर्छ । त्यसको विवरण प्रदेश र केन्द्रमा एकैसाथ जान्छ । यसले किसानको वास्तविक अवस्था पत्ता लाग्नेछ,’ उनले भने ।

सरकारलाई आगामी योजना तयार पार्न र किसानमैत्री कार्यक्रम सञ्चालन गर्न यसबाट मद्दत पुग्ने उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले कृषिलाई आम्दानीमूलक पेसामा रुपान्तरण गर्न यसले सहयोग पुग्ने बताए । किसान व्यावसायिक र अर्गानिक उत्पादनमा लाग्नुपर्नेमा उनले जोड दिए ।

निर्वाहमुखी कृषि प्रणालीलाई विस्थापित गर्नसमेत सूचीकरणले सहयोग पुग्नेछ । ‘यसले वास्तविक किसानको पहिचान गर्छ र राज्यबाट पाउने सेवा–सुविधाको पहुँच बढाउँछ’, उनले भने ।

कृषिको व्यावसायिकीकरण, यान्त्रिकीकरण र बजारीकरण गर्न गाउँपालिकाले ध्यान केन्द्रित गरेको डाँगीले जानकारी दिए ।

सरकारले देशभरका सबै स्थानीय तहमा किसान सूचीकरण अभियान सुरु गर्ने घोषणा गरे पनि जिल्लाका अरू स्थानिय तहमा सुरु हुन सकेको छैन । बागचौर नगरपालिकाका कृषि शाखा प्रमुख हिरादेवी रोकायाले कोरोनाका कारण किसान सूचीकरण कार्य सञ्चालन गर्न नसकिएको बताइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)