ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाको कारण सल्यानका करीब १ हजार ४०० उद्योग बन्द

२०७८ जेठ, ३०  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

जेठ ३०, सल्यान । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सल्यानका झण्डै १ हजार ४०० उद्योग बन्द भएका छन् । 

जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि सरकारले जारी गरेको निषेधाज्ञाका कारण जिल्लामा रहेका घरेलु तथा साना गरेर झण्डै १ हजार ४०० उद्योग बन्द भएका हुन् । 

जिल्लामा घरेलु तथा साना उद्योगका रूपमा सञ्चालित फर्निचर, ग्रिल, गार्मेन्ट, टिमुर, अदुवा प्रशोधन उद्योग, बुटिक, सिलाइकटाइ लगायतका उद्योग ठप्प भएका हुन् ।

बन्गाडकुपिण्डे नगरपालिका–९ सेराका पूर्णबहादुर बुढाथोकीले गाउँमै पाँच वर्षदेखि टिमुर बेसार र अदुवा प्रशोधन उद्योग सञ्चालन गर्दै आएका छन् । वार्षिक झन्डै ३० हजार प्याकेट मसला उत्पादन गर्दै आएको उद्योग विगत केही महीनायता बन्द रहेको छ । 

कोरोनाका कारण गत वर्ष पनि मुस्किलले ६ महीना चलेको उद्योग राम्ररी नफस्टाउँदै फेरि बन्द गर्नुपरेको उनको भनाइ छ । प्रशोधन उद्योग बन्द हुँदा किसानले उत्पादन गरेका सामग्रीहरू घरमै थन्किएको बुढाथोकीले बताए ।

महामारीले फर्निचर उद्योग बन्द हुँदा व्यवसाय नै धरापमा परेको कालीमाटी गाउँपालिका–३ का महेश भण्डारीले बताए । उनले गाउँमा फर्निचर उद्योग सञ्चालन गरी मासिक ५० हजार रुपैयाँसम्म कमाइ गर्दै आएका थिए ।

शारदा नगरपालिका–१ श्रीनगरमा सञ्चालन गरिएको भण्डारी गार्मेन्ट पनि दुई महीनादेखि बन्द छ । उद्योग बन्द भएपछि मासिक ३ लाख रुपैयाँ घाटा सहनु परेको गार्मेन्टका सञ्चालक वीरेन्द्र भण्डारीले बताए । ‘अब त बैंकको ब्याज तिर्न पनि समस्या भयो,’ उनले भने, ‘उद्योगमा ताला लाग्दा कर्मचारी र परिवार पाल्न हम्मेहम्मे परेको छ ।’ कोरोनाका कारण गत वर्ष पनि मुस्किलले ६ महीना चलेको उद्योग राम्ररी नफस्टाउँदै फेरि बन्द गर्नुपरेको उनले गुनासो गरे ।

उद्योग बन्द भएपछि उत्पादित सामग्री थन्क्याउनु पर्ने बाध्यता भएको सदरमुकामस्थित खैराबाङी फर्निचर उद्योगका सञ्चालक राजु गौतमले बताए । उनका अनुसार दुई महीना उद्योग बन्द हुँदा झन्डै ७ लाख रुपैयाँको घाटा भएको छ । ‘पुरानै गतिमा उद्योग चलाउन निषेधाज्ञा खुले पनि चार/पाँच महीना पर्खिनुपर्छ,’ उनले भने, ‘कच्चा पदार्थ काम नलाग्ने अवस्थामा पुगेको छ ।’ 

उनले सदरमुकामका चार विषयगत कार्यालयका लागि निर्माण गरिएका फर्निचर उद्योगमै थन्किएको बताए । जिल्लामा रहेका उद्योग बन्द हुँदा झन्डै २ हजार ५०० मजदूरको रोजगारी गुमेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)