सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–७ का सिरेनी, सुँगरखाल र कोप्चीलगायत गाउँ ‘पानीमाथिको सुक्खा बस्ती’ भनेर चिनिन्छन् । बस्ती नजिकै भेरी नदी सुसाइरहेको भए पनि सिँचाइको सुविधा छैन । खेतीपातीका लागि किसानले आकाशे पानीको पर पर्नुपरेको छ । जति मेहनत गरे पनि सिँचाइ अभावले वर्षभरि खान पुग्ने अन्न उत्पादन गर्न मुश्किल पर्छ ।
यो अवस्था अन्त्य गर्न अहिले भने सौर्य ऊर्जामा आधारित लिफ्ट सिँचाइमार्फत गाउँको मुहार फेर्न नागरिक तल्लीन छन् । १ करोड ६१ लाख रुपैयाँ लागतमा लिफ्ट प्रविधिमार्फत भेरी नदीको पानी लैजान ४० घरपरिवारलाई पायक पर्नेगरी पक्की पोखरी निर्माण शुरू गरिएको छ । ‘बाह्रै महीना गाउँमा सिँचाइको सुविधा पुगेपछि युवाले विदेश जाने सोच राख्नुपर्दैन । तरकारीखेतीबाट उनीहरूले गाउँमै मनग्गे आम्दानी गर्न सक्नेछन्,’ कर्णाली प्रदेश सभा सांसद ठम्मरबहादुर विष्टले भने, ‘सिँचाइ अभावले गाउँमा अन्नपात उब्जनी नहुँदा गाउँका युवालाई परिवार चलाउन कालापहाडदेखि खाडी मुलकसम्म भौतारिरहनु परेको छ ।’ सिँचाइको व्यवस्था नहुँदा उचित प्रतिफल पाउन नसकेका कृषक लिफ्ट प्रविधिमार्फत सिँचाइ सुविधा पुग्ने भएपछि उत्साहित भएको उनले बताए ।
‘पूर्वी सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ मा यस्ता अन्य कैंयौं बस्ती छन् । त्यस्ता बस्तीमा पनि लिफ्ट प्रविधिको सिँचाइले कृषि पेशालाई उत्पादनशील बनाउन टेवा पुर्याउने विश्वास लिएको छु,’ उनले भने, ‘सिरेनी, सुँगरखाल र कोप्ची मात्र होइन, अन्य स्थानमा पनि सो प्रविधिमार्फत सिँचाइ सुविधा पु¥याउन मेरो प्रयास जारी छ ।’ बाह्रै महीना सिँचाइ सुविधाको चुनौतीको रूपमा रहेका सिरेनी, सुँगरखाल, कोप्चीलगायत सुक्खा बस्तीहरूमा सिँचाइ पुर्याउन जनप्रतिनिधिले पहल गरेअनुसार प्रदेश सरकार लागिपरेको उनले बताए ।
विपन्न दलित समुदायको बाहुल्य रहेका उक्त बस्तीहरूमा कर्णाली प्रदेश सरकार खानेपानी, सिँचाइ तथा ऊर्जा कार्यालयको सहयोगमा अढाई लाख क्षमताको पानीपोखरी (वाटर रिजर्भ ट्यांकी) बनाउन लागिएको छ । चालू आर्थिक वर्षको असार मसान्तभित्रै सञ्चालनमा ल्याउनेगरी निर्माणलाई तीव्रता दिइएको खानेपानी, सिँचाइ तथा ऊर्जा कार्यालयका इन्जिनीयर डोरप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार हालसम्म करीब ६० प्रतिशत भौतिक प्रगति भइसकेको छ । ‘भेरी नदी–गोचेखोला–सिरेनी लिफ्ट सिँचाइ आयोजनाबाट करीब ४० हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने लक्ष्य राखिएको छ,’ उनले भने, ‘ग्रामीण सडक पहुँच पुगेका यस्ता क्षेत्रमा कृषकको दिगो आर्यआजनका लागि लिफ्ट सिँचाइ आयोजना कोसेढुङ्गा सावित हुने विश्वास राखेका छौं ।’ नजिकै पानीको स्रोत भए पनि सुक्खा रहेका सुर्खेतका बस्तीका लागि लिफ्ट सिँचाइ उपयुक्त रहेको उनले बताए ।
गाउँमा पर्याप्त कृषियोग्य जनशक्ति भए पनि सिँचाइ अभावले उत्पादन बढाउन नसक्दा घरखर्च चलाउनकै लागि विदेशिनु परिरहेको स्थानीय टेकबहादुर विकले बताए । सिरेनी, सुँगरखाल र कोप्चीलगायत दलित सुकुमबासी बस्तीमा सिँचाइ पुगेपछि गाउँको मुहार फेरिने विश्वास व्यक्त गरे । गाउँमा बाह्रै महीना सिँचाइ सुविधा पुर्याउन सके उब्जनी बढाएर यहीँ माटोमा सुन फलाउन सकिने स्थानीय सीता विकले बताइन् । उनका अनुसार कृषिको उत्पादकत्व बढाउन सके बजारको कुनै समस्या छैन ।