ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ज्यान हत्केलामा राखेर ‘राप्ती लोकमार्ग’ को यात्रा

२०७८ असार, ५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

असार ५, सल्यान। जीर्ण अवस्थामा रहेको घुमाउरो र खाल्डाखुल्डी भएको राप्ती लोकमार्ग अन्तर्गतको सल्यान–दाङ सडकखण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

दशौँ वर्ष पहिले निर्माण भएको राप्ती लोकमार्गको यस सडक मर्मत र स्तरोन्नति नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता बनेको हो । साविकको राप्ती अञ्चलका तीन जिल्लाको ‘लाइफलाइन’ मानिने राप्ती लोकमार्ग जीर्ण हुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । 

हिउँदमा धुलोका कारण आजित बनेका यात्रुहरु अहिले हिलो र पहिरोका कारण समस्यामा परेका छन् । विगत केही दिनयताको निरन्तरको वर्षा र सडक माथिबाट झरेको पहिरोका कारण यस सडकखण्ड भएर यात्रा गर्ने सबैले सास्ती खेप्नु परेको स्थानीय बताउँछन् । अझै पनि जीवन हत्केलामा राखी जोखिम र कष्टकरपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ ।

घुमाउरो, जीर्ण र साँघुरो सडकको समयमा मर्मतसम्भार र स्तरोन्नति हुन नसक्दा हिउँदमा धुलो र वर्षातमा हिलो तथा पहिरोका कारण सास्ती भोग्नुपरेको एम्बुलेन्स चालक हेमराज गिरीले बताए । जीर्णावस्थामा रहेको घुमाउरो र साँघुरो सडक भएकाले एक घन्टामा सहजै पार गरिने सल्यान–दाङ सडक अहिले झण्डै ३ घण्टा लाग्ने गरेको उनको भनाइ छ । 

‘पहिरोले बाटो अबरुद्ध भएपछि बिहीवार चाउचाउको भरमा रात काट्यौँ, एम्बुलेन्समा सुतेर बिउझिँदा पहिरो झरेर झण्डै आधा पुरिसकेको रहेछ, धन्न बाँच्न सफल भयौँ, वर्षाको समयमा कतिबेला पहिरो आउँछ भन्ने थाहा नै हुँदैन’ उनले भने ‘सम्बन्धित निकायले बेलैमा सोचेको भए अहिले सास्ती भोग्नु पर्दैनथ्यो ।’ 

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले सल्यान–दाङको सिमानादेखि सल्यान तर्फको भागको सडक चौडाको काम बन्द गरिएको बताइन् । निरन्तरको वर्षा र पहिरोको जोखिम भएकाले असार, साउन र भदौ तीन महीनाको लागि सडक चौडाको काम बन्द गरिएको उनले जानकारी दिईन् । 

यस सडकको मर्मत सहित स्तरोन्नतिको जिम्मेवारी पाएको निर्माण कम्पनीले बिगत केही महीना यता काम गर्दै आएको थियो । तर सडक स्तरोन्नतिको काम नसकिएपनि सडक डिभिजन कार्यालयले काम रोक्न परिपत्र गरेको छ । 

पहिरोको जोखिम बढेपछि कपुरकोट–दाङ सडक खण्ड भएर रातको समयमा आवतजावत नगर्न आग्रह गरिएको छ । निरन्तरको वर्षा र त्यसपछि सडक माथिबाट आउने पहिरोका कारण सवारीसाधन सञ्चालन गर्न जोखिम भएकाले रातको समयमा आवतजावत नगर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्द थापाले जानकारी दिए । 

वर्षातका कारण सडक माथिबाट पहिरो आउने सम्भावना धेरै भएकाले साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म यस सडकखण्ड भएर आवतजावत नगर्न आग्रह गरिएको उनले जानकारी दिए । बिहीवार मात्रै सकडमाथि बाट आएको पहिरोमा परेर एम्बुलेन्स सहित ४ ओटा गाडीमा क्षति पुगेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)