ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ बजेटमाथिको छलफल : नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नभएको आरोप

२०७८ असार, ९  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नमिलेको मंगलवार प्रदेशसभा बैठकमा सभाका सदस्यहरूले बताएका छन् । बजेट अधिवेशनको दशौं बैठकमा बोल्ने अधिकांश सांसदले बजेटमा छिद्रहरू रहेको औंल्याउँदै मुख्यमन्त्री केन्द्रित बजेट आएको आरोप लगाए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र त्यसका आधारमा ल्याएको बजेटमा आकाश जमीनको फरक रहेको टिप्पणी गरे । कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेर गतवर्ष बजेट ल्याएको सरकारले बल्लतल्ल स्थापना गरेको कोभिड अस्पताल नै झन्डै चार महीना बन्द गरेर राखेको भन्दै उनले सरकारको बजेट कार्यान्वयन गर्ने तरीकाप्रति कटाक्ष गरे ।

बजेटले किसान, मजदूर, भविष्य खोज्दै गरेका विद्यार्थी, महिला र बालबालिकालाई सम्बोधन नगरेको, तर मुख्यमन्त्रीको नाममा आवश्यकताभन्दा धेरै कार्यक्रम राखिएको भन्दै उनले आलोचना गरे ।

प्रदेशसभा सदस्य उमिता विश्वकर्माले स्वास्थ्य क्षेत्रलाई बजेटको प्राथमिकतामा नराखिएको भन्दै आलोचना गरिन् । ‘दलित समुदायका लागि अधिकार सम्पन्न संरचना गठन गर्ने विषय नीति तथा कार्यक्रममा आए पनि बजेटले सम्बोधन गरेन,’ उनले भनिन् । उनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट कटौती गरेर मन्त्रीको क्षेत्रमुखी विकासका योजना मात्र आएको उनको भनाइ थियो । प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीले अस्पतालहरूको स्तरोन्नतिको नाममा सरकारले शय्या थप्ने कुरामात्र गरेको भन्दै अस्पताल सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने विषय बजेटले नबोलेको बताए । ‘अस्पतालमा बेड मात्र राखेर स्तरोन्नति हुने हो कि दक्ष जनशक्ति र प्राविधिक पनि चाहिन्छ ?,’ उनले प्रश्न गरे ।

प्रदेश सांसद मोहनकुमार खड्काले बजेट सरकारको नीति तथा कार्यक्रमसँग मेल नखाएको टिप्पणी गरे । सरकारले हरेक पटक जनतालाई ढाँट्ने काम गरेको, आन्तरिक राजस्वले समेट्ने आकारमा मात्र चालू खर्चको व्यवस्थापन गर्नुपर्नेमा १२ अर्ब राजस्व आम्दानी अनुमान गरेको सरकारले १७ अर्ब चालू खर्चको प्रस्ताव गरेको, बजेटको आधार घट्दा सबै शीर्षकका बजेट घटेको भए पनि गाडी खरीद गर्ने बजेट भने गतवर्ष भन्दा धेरै विनियोजन गरिएको भन्दै उनले बजेटका कमजोरी औंल्याए ।

छलफलमा प्रदेशसभा सदस्यहरू शिवनारायण सिंह गन्गाई र लोकप्रसाद संग्रौलाले प्रदेशको आर्थिक अवस्था अधोगतितर्फ गएकाले अर्थविद्हरूको सहयोगमा सुधारको प्रयत्न गर्नुपर्ने बताए ।

सत्तारूढ दलका सांसद बलबहादुर साम्सोहाङले बजेटबाट सत्तापक्ष र प्रतिपक्ष कोही पनि सन्तुष्ट नभएको टिप्पणी गरे । बजेटको आकार प्रत्येक वर्ष घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले बजेटको आकार बढाउन आम्दानीको स्रोतहरू सृजना गर्नुपर्नेमा सरकारले त्यसतर्फ ध्यान नदिएको टिप्पणी गरे । जवाफमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले प्रदेश सरकारले तत्काल ऋण लिन सक्ने अवस्था नरहेको बताए । बजेटको आकार घटेकाले मन्त्रालयगत शीर्षकका बजेट घटाउनु परेको र स्वास्थ्यमा पनि त्यसकै असर परेको उनले स्पष्ट पारे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)