हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट आसपासका क्षेत्रमा पर्याप्त मात्रामा आलु उत्पादन भए पनि बजार नपाएको गुनासो कृषकहरूले गरेका छन् । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै जिल्लामा वैशाख २२ गतेदेखि लागू भएको निषेधाज्ञाका डाडाफया, ठेहे, हेल्दुम, माजा, छिप्रा याङ्चु गाउँका किसानले उत्पादन गरेको आलुले बजार पाउन नसकेको हो ।
मङ्सिर, पुसमा आलु रोपेर जेठ–असारमा बारीमा आलु फलेको भए पनि विक्रीका लागी बजार नपाएर कुहिएर खेर जाने अवस्था रहेको डाडाफयाँ गाउँका किसान जुनकला शाहीले गुनासो गरिन् । ‘सिमकोट बजारमा आलुले राम्रो मूल्य पाउनुका साथै विक्री पनि हुन्छ, तर निषेधाज्ञाका कारण सिमकोट जान नपाउँदा गाउँमा उत्पादित आलु खेर जाने अवस्था छ,’ उनले भनिन् ।
स्थानीय स्तरमा पर्याप्त मात्रामा आलु उत्पादन गरिए पनि उक्त आलुले बजार नपाएको किसानले बताउने गरेका छन् । निषेधाज्ञाका कारण किसानले उत्पादित आलु विक्रीका बजार पुर्याउन सकेका छैनन् ।
जिल्लामा उत्पादित नयाँ आलु किसानले प्रतिकिलो १५० रुपैयाँसम्म बेच्ने गरेका थिए । तर यो वर्ष विक्री गर्न नपाएपछि अन्य उपभोग्य वस्तु किन्न नसकिएको गुनासो किसानको छ । जिल्लामा व्यावसायिक किसानले वर्षको दुईपटक आलु उत्पादन गर्ने गरेका छन् ।
नेपालगञ्ज, सुर्खेतबाट दैनिक सिमकोट आउने सीता, समिट, तारा एयरलाइन्सले उपभोग्य सामग्री, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको खाद्यान्न ढुवानी, कार्गोलगायत विकास निर्माणका सामाग्री ढुवानी गरे पनि तरकारी आउनै छोडेको व्यापारीले बताउने गरेका छन् । अन्य सामग्री नियमीत ढुवानी हुन दिए पनि कोरोना संक्रमणको त्रासका कारण जिल्ला बाहिरबाट आउने मासु, फलफूल र तरकारीमा रोक लगाइएको छ । जिल्ला बाहिरबाट तरकारी नआउनु, जिल्लामै किसानले उत्पादन गरेको आलु लगायत तरकारी सिमकोटमा नपुग्दा तरकारीको अभाव भएको छ । रासस