ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उत्पादनमा आधारित अनुदानले लाभान्वित हुँदै किसान

२०७८ असार, १०  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसानले लाभ लिन थालेका छन् ।

जिल्लामै पहिलो पटक किसानलाई प्रोत्साहन गर्दै उत्पादनको आधारमा अनुदान दिन थालेपछि उनीहरू उत्साहित भएका हुन् ।

गण्डकी बहुउद्देश्यीय कृर्षि फार्मका सञ्चालक अर्जुनकुमार श्रेष्ठ गाउँपालिकाले सञ्चालन गरेको उत्पादनमा आधारित अनुदान कार्यक्रम किसानका लागि लोकप्रिय भएको बताउँछन् । ‘अनुदान वास्तविक किसानले पाउने भएकाले यसलाई निरन्तरता दिनुपर्छ’, उनले भने ।

करिब ७ सय लेयर्स कुखुरापालन गर्दै आएका उनले गत वर्ष मात्रै झन्डै डेढ लाख अन्डा उत्पादन गरेका थिए ।

गाउँपालिकाको नीतिअनुसार दूध उत्पादक किसानले जति लिटर दूध उत्पादन गर्छन्, पालिकाले प्रतिलिटर ५ रुपैयाँका दरले अनुदान दिन्छ । यस्तै, खसीबोका उत्पादन गर्ने किसानलाई प्रतिखसीबोकाको ५ सय रुपैयाँ र अन्डा उत्पादनतर्फ प्रतिगोटाको ५० पैसाका दरले अनुदान दिँदै आएको छ । गत वर्षदेखि नै यो कार्यक्रम सञ्चालनमा
ल्याइएको हो ।

गाउँपालिकाको पशु सेवा शाखा प्रमुख वसन्त रावतले यो वर्ष किसानको उत्पादन, पालिकाको अनुदान कार्यक्रमका लागि ६ लाख रुपैयाँ छुट्याइएको बताए । यो वर्षको अनुदान प्रदान गर्न अहिले व्यावसायिक कृषिमा संलग्न किसानको विवरण संकलन भइरहेको उनले जानकारी दिए ।

गत वर्ष मात्रै किसानको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रमअन्तर्गत ८२ जना कृषकको उत्पादनमा ५ लाख ६२ हजार ५७ रुपैयाँ अनुदान दिइएको थियो ।

अनुदान प्राप्त गर्न वार्षिक ५ वटा खसीबोका आफैंले गरेर बिक्री गरेको हुनुपर्ने उल्लेख गरिएको छ । यस्तै, दूध उत्पादन गर्ने किसानले दुधालु २ वटा गाई वा भैंसी पालेको र मासिक २ सय लिटर दूध बिक्री गरेको हुनुपर्ने प्रावधान छ ।

यस्तै, मासिक २ हजार अन्डा उत्पादन गरेको हुनुपर्ने प्रावधान राखिएको छ । किसानको उत्पादनको बजारीकरण गर्ने, प्रतिइकाइ उत्पादनको अनुदान प्रदान गर्ने प्रोत्साहन गर्ने, रोजगारी प्रदान गर्ने र जीवनस्तरमा सुधार ल्याउने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले कार्यक्रमले पशुपालन व्यवसायमा युवा पुस्ताको आकर्षण बढेको बताए । उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकाले यस्तो नीति लिइएको उनको भनाइ छ ।

आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा यो कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)