असार १३, सल्यान । किसानले दुग्ध उत्पादनबाट राम्रो आम्दानी लिन थालेपछि सल्यानमा गाईभैंसी पालन गर्नेहरुको संख्या बढ्दै गएको छ ।
दूधबाट राम्रो आम्दानी हुन थालेपछि केही समय अघिसम्म भारत र वैदेशिक रोजगारमा गएका र अन्य रोजगारीमा रहेका युवाहरुले समेत गाईभैंसी पालन व्यवसाय अँगाल्न थालेका छन् । दूधको माग बढेसँगै सल्यानमा विभिन्न पेशा व्यवसाय छोडेर समेत युवाहरु यसतर्फ आकर्षित भएको पाइएको छ ।
जिल्लामा पशुपालनको राम्रो सम्भावना भएपछि सरोकारवाला निकायहरुले पनि पशुपालन तथा दूध उत्पादनमा प्रोत्साहन दिन थालेका छन् । दूध उत्पादन बढाउनका लागि जिल्लाको बागचौर नगरपालिका र कुमाख गाउँपालिकाले विगतदेखि नै भैंसीलाई सुत्केरी भत्ता दिंदै आएका छन् । यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानसँगै अन्य स्थानिय तहमा किसानलक्षित कार्यक्रम सञ्चालन गर्न थालिएको छ ।
दूधमा आत्मनिर्भर बनाउन र कृषिमा किसानहरुको आकर्षण बढाउन किसान लक्षित कार्यक्रम सञ्चालन भइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले बताए ।
किसानलाई व्यवसायिक बनाउन र किसानको आयस्तरमा वृद्धि गर्ने उद्धेश्यसहित जिल्लाको त्रिबेणी गाउपालिका र बागचौर नगरपालिकामा उन्नत जातको भैंसीसमेत वितरण गरिएको उनको भनाइ छ ।
एक स्थानीय तह, एक पशु सेवा उत्पादन कार्यक्रम अन्तर्गत जिल्लाका दुई ओटा स्थानिय तहमा ८७ ओटा भैंसी र दुई ओटा उन्नत जातको राँगा वितरण गरिएको छ । जसअन्तर्गत बागचौर नगरपालिकाको वडा नम्बर ९ मा पशु सेवा कार्यालयको २० लाख रुपैयाँ, नगरपालिकाको २५ लाख रुपैयाँ र बगेश्वरी भैंसीपालन समितिको २९ लाख रुपैयाँ गरी ७४ लाख रुपैयाँको लागतमा सो कार्यक्रम सञ्चालन गरिएको हो ।
जसबाट ४० ओटा भैंसी, दुई ओटा प्रजनन राँगो, ५० ओटा छतसहितको भकारो निर्माण, मिल्क क्यान, मिनरल बल्क र उन्नत घाँसका बेर्नाहरू वितरण गरिएको नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिए । उनले यस्ता कार्यक्रमले जनताको जीविकोपार्जनमा सहयोग पुग्ने बताए ।
यस्तै दूध पकेट करिडोर अन्तर्गत त्रिबेणी गाउपालिकाको वडा नम्बर १, ३ र ६ मा ४७ ओटा उन्नत जातको मुर्रा भैंसी वितरण गरिएको छ । पशु सेवा कार्यालयको २० लाख रुपैयाँ, गाउँपालिकाको ६ लाख रुपैयाँ र गाईभैंसी पकेट विकास समितिको २३ लाख ५० हजार रुपैयाँ गरि कुल ४९ लाख ५० हजार रुपैयाँको लगानीमा भैंसी वितरण गरिएको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिए ।
सोही कार्यक्रमभित्र रहेर उन्नत जातको घाँस, तालिम, अन्तरक्रिया, औषधीसमेत वितरण गरिएको छ । परम्परागत पशुपालनलाई व्यवसायिक बनाउन उन्नत जातको भैंसीपालन गर्न थालेको गाईभैंसी पकेट विकास समितिका अध्यक्ष मोतिलाल बुढाथोकीले बताए ।
बजारमा दूधको माग बढ्दै गएकाले दूधमा आत्मनिर्भर बनाउनको लागि व्यवस्थित रुपमा भैंसीपालन गर्न थालेको उनको भनाइ छ ।