ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाणिज्य विभागद्वारा सुर्खेतका ७ व्यवसायी फर्मलाई जरिवाना

२०७८ असार, १५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंले सुर्खेतका ७ वटा व्यावसायिक फर्मलाई जरिवाना गरेको छ । विभागले आइतबार सुर्खेतमा कानुन विपरीत व्यवसाय क्रियाकलाप गर्ने छिन्चु र वीरेन्द्रनगरका ७ वटा व्यवसायी फर्मलाई जरिवाना गरेको हो ।

नियम विपरीत सञ्चालित व्यवसायी फर्मले उपभोक्ताको अधिकारलाई बेवास्ता गरेर सञ्चालन गरिरहेको पाइएपछि  विभागले ती फर्मलाई २ लाख ३० हजार रुपैयाँ जरिवाना गराएको छ ।

विभागले अनुगमनमा खरिद बिक्री बिल नराखेकामा छिन्चुको बराल इन्टरप्राइजेजलाई ५०  हजार, कमसल तथा म्याद नाघेका वस्तु बिक्री गर्ने स्याङ्जा किराना पसललाई २० हजार,  लक्ष्मी खाद्य स्टोरलाई २० हजार, सरिता कोल्ड स्टोर्सलाई २० हजारसँगै वीरेन्द्रनगरको कर्णाली मललाई चीनमा निर्मित मिठाइएको लेबलमा नेपाली भाषामा मूल्य, उत्पादन मिति, उपभोग्य मिति उल्लेख नगरेको पाइएपछि ५० हजार र दर्ताबिनै सञ्चालनमा रहेको रेखा पोखरेलको पसललाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।

अनुगमनका क्रममा ती व्यावसायिक फर्मले कानुन विपरीत व्यापारिक क्रियाकलाप गरेको पाइएपछि  पहिलो पटकको हकमा २० हजारदेखि ५० हजारसम्म जरिवाना गरिएको विभागका अनुगमन अधिकृत ईश्वरीप्रसाद ढकालले बताए ।

उनले निषेधाज्ञाका बेला कर्णालीमा कमसल सामग्री बिक्री वितरण बढी हुने गरेको गुनासो आएपछि प्रदेशको मुख्य नाका सुर्खेतमा नमुना अनुगमन गरिएको जानकारी दिए ।
उनका अनुसार अनुगमन गरिएका ११ मध्ये ४ वटा फर्मबाट करिब १ लाख रुपैयाँ मूल्य बराबरको म्याद नाघेका खाद्यान्न तथा मिठाईजन्य वस्तु नष्ट गरिएको छ ।

वीरेन्द्रनगरका दुई पेट्रोलपम्प र छिन्चुका दुई वटा खाद्यान्न पसललाई व्यवसाय सुधार्न निर्देशनसमेत दिइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलले बताए ।

लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको समेत बजार अनुगमनको जिम्मेवारी  पाएको वाणिज्य कार्यालयले सबै जिल्लामा अनुगमनलाई तीव्रता दिने उनको भनाइ । ‘बजार अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालित व्यवसायी फर्मलाई जरिवानाबापतको रकम ७ दिनभित्र बुझाउन निर्देशन दिएका छौं,’ उनले भने, ‘तोकिएको अवधिभित्र जरिवानाबापतको रकम तोकिएको समयभित्र दाखिला नगरे सदाका लागि बन्द गरिनेछ ।’

अनुगमनमा वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय सुर्खेत, उद्योग, उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेश, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, आयल निगम, जिल्ला प्रहरी कार्यालय, उपभोक्ताकर्मी र पत्रकार सहभागी थिए ।

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले विभिन्न निकाय तथा संघ–संस्थाको  समन्वय एवं  सहकार्यमा जिल्लाभर बजार अनुगमनलाई निरन्तरता
दिइने बताए ।

कोरोना महामारीका कारण उपभोक्ताको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्डबारे व्यवसायीलाई सचेत हुन आग्रह गरे ।

जिल्ला बजार अनुगमन समितिबाट ग्रामीण क्षेत्रका बजारमा समेत छड्के चेकजाँच जारी राखिने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)