ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीपी प्रतिष्ठानको आन्दोलन नयाँ मोडमा : पदाधिकारीको बहिर्गमन पहिलो शर्त

२०७८ असार, १६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

असार १६, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत १६ दिनदेखि जारी आन्दोलनले मंगलवारदेखि नयाँ मोड लिएको छ ।

प्रतिष्ठानमा भइरहेको भ्रष्टाचार, अनियमितताको भण्डाफोर गर्दै सुधारका लागि आन्दोलनरत पक्षसँग मंगलवार वार्ता गर्न बसेको समयमा उपकुलपतिले मादक पदार्थ सेवन गरेको भेटिएपछि आन्दोलनले नयाँ मोड लिएको हो । 

प्रतिष्ठान सुधारको माग गर्दै आएका आन्दोलनकारीहरुले बुधवारदेखि चारै जना पदाधिकारीहरुको राजिनामा एवम् बहिर्गमनको माग गरेका छन् । चारै जना पदाधिकारीहरुको गैह्रजिम्मेवारी शैलि बढ्दै गएपछि आन्दोलनकारीहरुले प्रधानमन्त्रीकै पहलमा उच्च स्तरिय छानबिन समिति गठन गर्न माग गर्दै चारै जना पदाधिकारीको बहिर्गमनको माग गरेका हुन् । 

वार्ताको समयमा भएको मादकपदार्थ सेवन काण्ड नै आन्दोलनको नयाँ मोडको कारण बनेको छ । प्रतिष्ठानका आन्दोलनरत पक्ष मात्रै होइन, धरानका नागरिक सञ्जालहरु पनि चारै जना पदाधिकारीहरुलाई दोषी रहेको टिप्पणी हुन थालेको छ ।

मादकपदार्थ सेवन गरेका उपकुलपतिलाई वार्तामा सहभागि गराउन कसले प्रोत्साहन गयो, किन राखियो सबैको जिज्ञासा बढ्दै गएको छ । अन्य पदाधिकारीहरुको नियत माथिनै पनि शंका उपशंका उत्पन्न भएको छ । उपकुलपतिलाई वार्तामा राख्ने अन्य पदाधिकारीहरुको नियत माथि प्रश्न उठ्न थालेको छ ।

उपकुलपतिलाई मादक पदार्थ सेवन गरेको अवस्थामा वार्तामा बस्न उत्साहित गर्नेहरु पनि दोषी रहेको संयुक्त संघर्ष समितिका संयोजक डा. एस.पी. रिमालको भनाइ छ । उनले भने, ‘एक जना भिसि मात्रै दोषी छैनन्, अन्य पदाधिकारीहरु पनि दोषी छन्, उनलाई त्यो अवस्थामा वार्तामा बस्न उत्साहित गर्ने पनि दोषी हुन् ।’

त्यसैले चारै जना पदाधिकारीलाई कारवाही गरिनु पर्ने उनी बताउँछन् । पदाधिकारीहरुले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेकाले नै अहिलेको अवस्था आएको उनको दाबी छ । उनी भन्छन्, ‘सबैलाई आ–आफ्नो जिम्मेवारी छ, उनीहरुले चै जिम्मेवारी पूरा गर्नुपर्दैन?, उनीहरुको जिम्मेवारी पुरा गर्न भिसिले रोकेको छ ?, एकले अर्कालाई दोष थोपरेर हुँदैन, चारै जना पदाधिकारी दोषी छन् ।’

संघर्ष समितिले चारै पदाधिकारीको बहिर्गमनको माग गर्दै सात दिने अल्टिमेटम दिएका आन्दोलनकारीहरुले सबैको कार्यकक्षमा तालाबन्दी गरेका छन् । मुख्य पदाधिकारीको गैर जिम्मेवार कामकै कारण प्रतिष्ठान धरायसी बन्नुको साथै झन् समस्या थपिदै गएको आरोप लगाउदै मुख्य पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । चौध दिन दैनिक धर्ना र विरोधसभा गर्दै आएको संयुक्त संघर्ष समितिले दुई दिन अघिदेखि रिले अनसनमा थियो ।

समितिले असक्षम पदाधिकारीहरुको राजिनामा तथा बहिर्गमन, प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोलिको गठन गरिनु पर्ने, अबका दिनमा पदाधिकारीहरु चयन गर्दा विभिन्न आयोग एवम् विज्ञको सुझाव अनुसार विशिष्टिकृत हरुको समूह बनाइ उनिहरुको सुझावको आधारमा पदाधिकारी चयन गर्नुपर्ने माग गरेका छन् ।

एक हप्तासम्म पनि माग सुनुवाइ नभए सामुहिक राजिनामा दिएर राजधानी केन्द्रित आन्दोलन गर्ने समितिका संयोजक डा. रिमालले बताए । पदाधिकारी चयन गर्ने पद्धति गलत भएको पुष्टि भइसकेको बताउँदै उनले भने, ‘राज्यका सम्पूर्ण शैक्षिक एवम् स्वास्थ्य संस्थाहरु कसरी राजनैतिक दलदलमा फसेका छन्, कसरी धरायसी गरिदैछ गम्भीरता पूर्वक सोचिनु पर्छ ।’ समितिले रिले अनसनको अन्त्य गर्दै पुनः उपकुलपति कार्यालय अघि दैनिक २ घण्टा बिरोध तथा ध्यानाकर्षण कार्यक्रम जारी राख्ने भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)