ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दूधमा आत्मनिर्भर हुँदै सल्यान, भैंसीलाई भत्ता

२०७८ असार, २२  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । किसानले दुग्ध उत्पादनबाट गतिलो आम्दानी लिन थालेपछि सल्यानमा गाईभैंसीपालन गर्नेको संख्या बढ्दै गएको छ ।

दूधबाट मनग्ये आम्दानी हुन थालेपछि केही समय अघिसम्म भारत एवं वैदेशिक रोजगारमा गएका र अन्य रोजगारीमा रहेका युवाहरूले समेत गाईभैंसी पालन व्यवसाय अँगालेका छन् ।

दूधको माग बढेसँगै सल्यानमा विभिन्न पेसा व्यवसाय छाडेरसमेत युवाहरू यसतर्फ आकर्षित हुन थालेका हुन् । जिल्लामा पशुपालनको राम्रो सम्भावना भएपछि सरोकारवाला निकायले पनि यसलाई प्रोत्साहन दिन थालेका छन् ।

दूध उत्पादन बढाउन जिल्लाको बागचौर नगरपालिका र कुमाख गाउँपालिकाले विगतदेखि नै भैंसीलाई सुत्केरी भत्ता दिँदै आएका छन् ।

यस्तै, पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानसँगै अन्य स्थानीय तहमा किसान लक्षित कार्यक्रम सञ्चालन गर्न थालिएको छ ।

दूधमा आत्मनिर्भर बनाउन र कृषिमा आकर्षण बढाउन किसान लक्षित कार्यक्रम सञ्चालन भइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए ।

किसानलाई व्यावसायिक बनाउन र आयस्तरमा वृद्धि गर्ने उद्देश्यसहित त्रिवेणी गाउँपालिका र बागचौर नगरपालिकामा उन्नत जातका भैंसीसमेत वितरण गरिएको उनको भनाइ छ ।

एक स्थानीय तह, एक पशु सेवा उत्पादन कार्यक्रम जिल्लाका दुई स्थानीय तहमा ८७ वटा भंैसी र २ वटा उन्नत जातको राँगा वितरण गरिएको छ ।

इसअन्र्तगत बागचौर नगरपालिका–९ मा पशु सेवा कार्यालयको २० लाख, नगरपालिकाको २५ लाख र बगेश्वरी भैंसीपालन समितिको २९ लाख गरी ७४ लाखको लागतमा सो कार्यक्रम सञ्चालन गरिएको हो ।

यसबाट ४० वटा भैंसी, २ वटा राँगा, ५० वटा छतसहितको भकारो निर्माण, मिल्क क्यान, मिनरल बल्क र उन्नत घाँसका बेर्ना वितरण गरिएको नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिए ।

यस्तै, दूध पकेट करिडोरअन्तर्गत त्रिवेणी गाउँपालिका–१, ३ र ६ मा ४७ वटा उन्नत जातका मुर्रा भैंसी वितरण गरिएको छ । पशु सेवा कार्यालयको २० लाख, गाउँपालिकाको ६ लाख र गाईभैंसी पकेट विकास समितिको २३ लाख ५० हजार गरी कुल ४९ लाख ५० हजारको लगानीमा भैंसी वितरण गरिएको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख वसन्त रावतले बताए ।

सोही कार्यक्रमभित्र रहेर उन्नत जातको घाँस, तालिम, औषधीसमेत वितरण गरिएको छ । परम्परागत पशुपालनलाई व्यावसायिक बनाउन उन्नत जातका भैंसीपालन गर्न थालेको गाईभैंसी पकेट विकास समितिका अध्यक्ष मोतीलाल बुढाथोकीले जानकारी दिए ।

बजारमा दूध माग बढ्दै गएकाले दूधमा आत्मनिर्भर बनाउन व्यवस्थित रूपमा भैंसीपालन गर्न थालिएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)