ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाका कारण सप्तकोशीमा पानीजहाज बन्द

२०७८ असार, २२  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

धनकुटा । सप्तकोशी नदीमा पानीजहाजले चर्चा पाएको जेटबोट कोभिड–१९ कारण बन्द छ । स्थानीय प्रशासन र सेवाप्रदायकबीच भएको सम्झौताअनुसार कोरोनाको नयाँ लहरबाट सुरु भएसँगै बन्द गर्दा दैनिक दुई लाख रुपैयाँ घाटा हुने गरेको जेटबोट सञ्चालक बताउँछन् ।

यात्रु तथा पर्यटकलाई कोरोना संक्रमणबाट बचाउन जेटबोट बन्द गर्दा दैनिक दुई लाख क्षति नोक्सानी बेहोर्नुपरेको वराहा क्षेत्र म्यारिन एन्ड रिसोर्ट प्रालिका सञ्चालक नवीन पौडेलले बताए ।

‘मेरा ४ वटा जेटबोट छन् । अन्य ३ वटा गरी दैनिक चल्ने ७ वटा जेटबोट बन्द हुँदा दैनिक दुई लाख रुपैयाँ घाटा सहनुपरेको छ,’ उनले भने ।

सप्तकोशीमा तीन सिट, आठ सिट, १८ सिट र ७० सिट क्षमताका जेटबोट सञ्चालन हुँदै आएका छन् ।

नेपालको पानीजहाज भनेर प्रचार गरिएका जेटबोटले स्थानीय तथा बाह्य पर्यटकलाई जल यातयातको महसुस गराउनुका साथै सुनसरी र उदयपुरको सीमा क्षेत्रमा पर्ने चतरादेखि धनकुटा, भोजपुर र संखुवासभालगायत पहाडी भेगका बासिन्दाका लागि यातायात सेवा पुर्‍याउँदै आएका थिए ।

जलयात्रा गर्ने आन्तरिक पर्यटकको पहिलो रोजाइ बन्दै गएको उक्त सेवा कोरोना महामारीले रोकिए पनि सामान्य बनेपछि पुनः सञ्चालनमा ल्याइने पौडेलले जानकारी दिए ।
नेपालका नदीमा मोटरबोट र जेटबोट चलाएको अनुभवका आधारमा कोशी नदीका जानकार मानिन्छ ।

उनले भने, ‘सरकारले चाह्यो भने दोलालघाटसम्म जेटबोटबाट यात्रु आउजाउ गर्न/गराउन सकिन्छ तर नदीका बीचमा रहेका ढुंगा सरकारले पन्छ्याइदिनुपर्छ ।’

पहिलो चरणमा भोजपुुरको हतुवागडीस्थित भसुवासम्म पुगिरहेको जेटबोटका लागि दूधकोशीको बाधा पन्छ्याउने हो भने उदयपुरको बेलका नगरपालिका–७ र भोजपुरको हतुवागढी गाउँपालिका–९ को लाम्पातेसम्म पुग्न सकिने उनको भनाइ छ ।

पौडेलका अनुसार अरुणबाट अझै टाढाको दूरीमा पर्ने तुम्लिङटारसम्म जेटबोट सञ्चालन गर्न नदीको बीचमा रहेको दुई वटा अब्स्ट्याकल (ढुंगा) ब्लास्ट गर्नुपर्ने र दूधकोशी (सुनकोशी) बाट दोलालघाट पुग्न एउटा ढुंगा ब्लास्ट गर्नुपर्नेछ । बराह क्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले व्यावसायिक रूपमा जेटबोट सञ्चालन गर्दै आएको छ ।

जेटबोटले भोजपुरका हतुवागडी, आमचोक, धनकुटाको सहिद भूमि गाउँपालिकासहित भोजपुर–खोटाङका दक्षिणी भेगका स्थानीयलाई छोटो दूरीमै सुनसरीको बराह क्षेत्रसँग जोडिदिएको छ ।

जेटबोट सञ्चालक सदस्यमध्येका बेलका नगरपालिकाको पर्यटन संयोजक कवि राईले नागरिकको सुविधालाई ध्यानमा राखेर सरकारले नदीका केही अब्स्ट्याकल पन्छ्याउने हो भने चतराबाट हिँडेर एक साता लाग्ने भोजपुर, खोटाङलगायत पहाडी क्षेत्र जेटबोटबाट एकै घन्टामा पुग्न सकिने बताए ।

भोजपुरको पावला, दुङमाना, पाङा, यूँ, वासिङ, पूर्णे, बयाङ, आमचोकसम्मका स्थानीय यसबाट प्रत्यक्ष लाभान्वित हुने उनको भनाइ छ । हालसम्म निजी क्षेत्रबाट कोशी, अरुण र दूधकोशीमा जल यातायात्र सञ्चालन भइरहेको छ ।

चतरा पुलमुनिबाट पानीजहाजले ७ घन्टाको पैदल यात्रा २० मिनेटमा तय गर्ने हुँदा खोटाङ, भोजपुर र धनकुटाको तल्लो भेगका स्थानीयलाई धरानबाट दैनिक उपभोग्य सामान ढुवानी गर्न तथा गाउँघरमा उत्पादित सामान बिक्री गर्न सहज हुने गरेको जेटबोट व्यवसायी पर्शुराम राईले बताए । जेटबोटबाट खोटाङको दक्षिणी भेग, उदयपुरको बेलका नगरपालिका–७ र ८ वडाबासी, भोजपुर र धनकुटाका तल्लो भेगका बासिन्दा लाभान्वित हुँदै आएका छन् । कोरोना महामारीका कारण जेटबोट चल्न छाडेपछि लाभान्वित क्षेत्रका स्थानीयलाई अप्ठेरो भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)