वीरेन्द्रनगर (अस) । मध्यपश्चिम विश्वविद्यालय (एमयू)का लागि ५२ करोड ४८ लाख वार्षिक बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि उक्त बजेट विनियोजन गरिएको हो । विश्वविद्यालय अनुदान आयोगमार्फत चालूतर्फ २७ करोड ४८ लाख र पूँजीगततर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । गत बिहीवार आयोजित एघारौं वार्षिकोत्सवको अवसरमा विश्वविद्यालयका रजिस्ट्रार प्राडा. नारायणप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् । भर्चुअल माध्यमबाट आयोजना गरिएको वार्षिकोत्सवमा चालू आर्थिक वर्षमा गरिएको खर्चसमेत सार्वजनिक गरिएको थियो ।
चालू आर्थिक वर्ष २०७७÷७८ को दोस्रो चौमासिकमा सञ्चालनतर्फ एमयूले २३ करोड खर्च गरेको छ । रजिस्ट्रार पौडेलका अनुसार तेस्रो चौमासिकको खर्च रिपोर्ट आउन भने बाँकी छ । पूँजीगततर्फ १५ करोड खर्च हुने अनुमान रहेको उनले बताए ।
विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंहले विश्वविद्यालयलाई अन्तरराष्ट्रियस्तरमा परिचित गराउने गरी योजनाहरू बनाइएको दाबी गरे । यसअघि पाँचओटा संकाय भएको विश्वविद्यालयमा कृषि र स्वास्थ्य थप गरी सात संकाय पुर्याइएको जानकारी उनले दिए । एमयूमा हाल ३१ ओटा डिपार्टमेन्ट, १७ ओटा कलेज, ६०० शिक्षक/कर्मचारीहरू र ८ हजार विद्यार्थी छन् । विश्वविद्यालय सामाजिक र आर्थिक उन्नति गर्ने थलो भएको भन्दै उपकुलपति सिंहले विभिन्न निकायबाट शैक्षिक सुधारका लागि सहयोग प्राप्त भएको बताए ।
कार्यक्रमका प्रमुख अथिति प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आवश्यकतालाई दृष्टिगत गरेर पाठ्यक्रम तयार गर्नुपर्नेमा जोड दिएका थिए ।