रुकुम पश्चिम (अस) । रुकुम पश्चिमका ६ ओटा स्थानीय तहले करीब ३ अर्बको बजेट विनियोजन गरेका छन् । आगामी आव २०७८÷७९ का लागि जिल्लाका स्थानीय तहहरूले नगर तथा गाउँसभामा २ अर्ब ८६ करोड ३१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् ।
जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकाको सभामा पेश भएको बजेटमाथि छलफलपछि पारित गर्ने तयारी भइरहेको छ । गाउँ तथा नगरसभामा पेश भएको नीति तथा कार्यक्रम र बजेट असार मसान्तभित्रै पारित गर्नुपर्ने प्रावधान छ । जिल्लाका तीन गाउँपालिकाका गाउँसभामा १ अर्ब ३९ करोड ५६ लाख रुपैयाँको बजेट पेश भएको छ ।
सबैभन्दा बढी सानीभेरी गाउँपालिकाले ४८ करोड ६३ लाखको बजेट पेश गरेको छ । यस्तै बाँफिकोटको बजेट ४६ करोड ६७ लाख र त्रिवेणीको ४४ करोड २४ लाख ९३ हजार रुपैयाँको बजेट पेश भएको छ । नगरपालिकातर्फ आठबीसकोटको सबैभन्दा बढी ८५ करोड २० लाख छ भने मुसीकोटको ७९ करोड ५७ लाख र चौरजहारीको ५८ करोड ६५ लाखको बजेट छ । नगरपालिकातर्फ १ अर्ब ४६ करोड ७५ लाख रुपैयाँको बजेट पेश भएको छ ।
गाउँसभामा उपाध्यक्ष र नगरमा उपप्रमुखले बजेट पेश गरेका हुन् । यसमा चालू र पूँजीगत बजेट समावेश छ । गाउँ तथा नगरपालिकाको आन्तरिक राजस्व तथा संघीय सरकारको वित्तीय समानीकरण, सशर्त अनुदान, राजस्व बाँडफाँट, संघीय सरकारको समपूरक र विशेष अनुदान पनि बजेटमा समेटिएको मुसीकोट नगरप्रमुख देवीलाल गौतमले बताए । उनका अनुसार प्रदेश सरकारको अनुदान पनि बजेटमा उल्लेख गरिएको छ ।
त्रिवेणी गाउँपालिका उपाध्यक्ष निर्मला विष्टले आर्थिक वर्षका लागि सम्भावित आम्दानीको स्रोत तथा खर्चको बजेट गाउँसभामा पेश गरिन् । उनका अनुसार सभामा छलफल गरी परिमार्जनसहित बजेट पारित हुनेछ ।