ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चौथो दिन पनि हुलास वायरमा मजदूरको धर्ना

९३ मजदूर पुनर्बहालीको मागमा उद्योग प्रशासनसँगको वार्ता असफल

२०७८ असार, २७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकास्थित हुलास वायर इन्डष्ट्रिज प्रालिविरुद्ध मजदूरले शुरू गरेको आन्दोलन शनिवार पनि जारी रह्यो । उद्योगले एकैपटक ९३ मजदूरलाई निष्कासन गरेपछि पुनर्बहालीको माग गर्दै बुधवारदेखि उद्योगको गेटमा मजदूरले धर्ना दिइरहेका छन ।

उद्योग प्रशासन र मजदूर नेताबीच दुईपटक अनौपचारिक वार्ता भए पनि सहमति हुन सकेन । दुवै पक्ष आ–आफ्नै अडानमा रहेकाले सहमति हुन नसकेको हो । मजदूर आन्दोलनको कारण उद्योगको उत्पादन ठप्प भएको छ । उद्योगमा कार्यरत ७५० मजदूर समेत धर्नामा सामेल भएका छन् । उद्योग प्रशासन र मजदूर नेताबीच अनौपचारिक रूपमा भएका वार्ता सहमतिमा पुग्न नसकेपछि आन्दोलनमा अन्य मजदूर संगठन पनि ऐक्यबद्ध भएका छन् ।

उद्योगको मूल प्रवेशद्वारमा पाल टाँगेर मजदूरहरू आन्दोनलमा बसेपछि उद्योगभित्र आउजाउ नै बन्द भएको छ । नियुक्तिपत्र र कानून अनुसार सेवासुविधा दिइनुपर्ने माग राखेर मजदूरले गत मंगलवार विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा उजुरी दिएका थिए । समस्या सुल्झाउनुको सट्टा उद्योगले छलफल र जानकारीविना नै भोलिपल्ट मजदूरलाई निष्कासन गरेको नेपाल कारखाना श्रमिक संघ इकाइ उपाध्यक्ष सुरेश माझीले जानकारी दिए ।

उनका अनुसार डेढ दशकभन्दा अघिदेखि कार्यरत मजदूरलाई उद्योगले नियुक्तिपत्र र न्यूनतम सेवा सुविधा समेत दिएको छैन । उद्योगले एक वर्षअघि नियुक्तिपत्र र न्यूनतम पारिश्रमिक दिने सहमति गरेको थियो । मजदूरको उजुरी परेसँगै उद्योगमाथि श्रम तथा रोजगार कार्यालयले कारबाही अघि बढाउने तयारी गर्दैगर्दा २०७७ असार २१ गते मजदूरलाई न्यूनतम पारिश्रमिक र नियुक्ति पत्र दिने सहमति उद्योगले गरेको हो । तर सहमति पालना नगरी मजदूरलाई निष्कासन गरेपछि तनाव भएको माझीले बताए ।

उद्योगमा ७५० मजदूर कार्यरत छन् । कुनै पनि कामदारलाई नियुक्ति र अवकाश दिँदा ट्रेड युनियनसँग छलफल गर्ने, कानूनअनुसारका सेवा–सुविधापत्र दिने लगायत पूर्वशर्त रहेकोमा उद्योगले त्यसको पालना नगरेको गुनासो नेपाल कारखाना श्रमिक संघ मोरङका अध्यक्ष श्रीप्रसाद साहले गरे । आन्दोलनरत मजदूर र उद्योग प्रशासनबीच बारम्बार छलफल एवं वार्ता भए पनि समस्याको समाधान भएको छैन ।

उद्योगका महाप्रबन्धक मुकेश कोठरीले मजदूर निष्कासन र भइरहेको आन्दोलनका विषयमा प्रतिक्रिया दिन चाहेनन् । मजदूरले दिएको पछिल्लो उजुरीको अध्ययन गरेर यथार्थ विवरण उपलब्ध गराउन उद्योगलाई पत्राचार गरिसकिएको श्रम तथा रोगजार कार्यालय विराटनगरका सूचना अधिकारी रामप्रसाद तिमल्सिनाले बताए । सहमति र नियम अनुसार श्रमिकलाई नियुक्तिपत्र एवं पारिश्रमिक नदिएको तथा कामबाट निकालेको पाइएमा उद्योगमाथि कारबाही हुने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)