ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ को विनियोजन विधेयक पारित

२०७८ असार, २८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । प्रदेशसभा सदस्य र मन्त्रीबीचको भनाभनले लम्बिएको प्रदेश १ को बजेट अधिवेशनबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । चारपटक अवरुद्ध भएको प्रदेशसभा बैठक सोमवारदेखि सुचारु भएको थियो । शुक्रवार विनियोजनमाथिको छलफल सकिएपछि विधेयक निर्णयार्थ पेश गरिएको थियो ।

बजेट अधिवेशनमा बोल्ने क्रममा माओवादी केन्द्रका प्रदेशसभा सदस्य मोहन खड्का र भौतिक पूर्वाधारमन्त्री अम्बिरबाबु गुरुङबीच प्रदेशसभामा भएको भनाभनपछि प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएको थियो ।

मन्त्री गुरुङले माफी माग्नुपर्ने माग गर्दै माओवादीका प्रदेशसभा सदस्यले बैठक अवरुद्ध गर्दै आएका थिए । सोमवार बैठक प्रारम्भ हुनुपूर्व नै एमाले र माओवादीबीच सहमति भएपछि सोमवारदेखि प्रदेशसभा सुचारु भएको थियो । मन्त्री गुरुङले बोलेको रेकर्डबाट हटाउने निर्णय भएपछि दुवै पार्टीका नेताबीच प्रदेशसभा बैठक विनाअवरोध सञ्चालन गर्ने सहमति भएको थियो ।

प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले खर्च कटौतीको दुई छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएकोमा खर्च कटौतीको दुवै प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । खर्च कटौतीको प्रस्ताव राख्दै नेपाली कांग्रेसका सांसद शिवनारायणसिंह गनगाईले अर्थ विविध शीर्षकमा ३ अर्ब रुपैयाँ बजेट स्वैच्छाचारी ढंगले खर्च गर्ने उद्देश्यले राखिएको भन्दै त्यसलाई कटौती गरी १ रुपैयाँ राखियोस् भनी प्रस्ताव गरेका थिए ।

नेकपा माओवादी केन्द्रका सांसद मोहनकुमार खड्काले राजनेता पार्कका लागि २ करोड रुपैयाँ विनियोजन गरिएकोमा त्यसलाई घटाई १ रुपैयाँ कायम गर्न संशोधन प्रस्ताव गरेका थिए । दुवै प्रस्ताव बहुमतले अस्वीकृत भए । खर्च कटौतीको प्रस्तावको विषयमा जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले खर्च कटौतीको प्रस्ताव स्वीकार गर्न नसकिने बताए ।

विनियोजन विधेयकमाथिको छलफल सकिएपछि मुख्यमन्त्री शेरधन राईले समग्र बजेटका सन्दर्भमा उठेका प्रश्नहरूको जवाफ दिएपछि बजेट बहुमतले पारित भएको हो । बजेट पारित भएसँगै प्रदेशसभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । अर्काे सूचना नभएसम्मका लागि आठौं अधिवेशनको बैठक स्थगित गरिएको सभामुख प्रदीपकुमार भण्डारीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)