ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निषेधाज्ञाको मौका पारेर मनलाग्दी भाडा असुली

२०७८ असार, ३०  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा सञ्चालित यातायातका साधनले मनपरी भाडा असुल्न थालेको गुनासो बढेको छ । जिल्लामा सञ्चालन भइरहेका यातायातका साधनले ग्रामीण रुटमा चल्ने, जिल्ला भित्रिने र बाहिरिने सर्वसाधारणबाट निषेधाज्ञाको मौका छोपी मनलाग्दी भाडा असुल्न थालेको गुनासो बढेको हो ।

कोरोना महामारीको जोखिमका कारण बन्द सार्वजनिक सवारीसाधन झन्डै २ महिनापछि असार २१ गतेबाट जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणालीबाट सञ्चालन गर्न अनुमति दिएको थियो । यातायात व्यवसायीले कोरोना महामारीको वहाना बनाएर सर्वसाधारणबाट दोब्बर/तेब्बर भाडा असुली रहेको सर्वसाधारणको गुनासो छ । जिल्लामा असार ३१ गतेसम्म निषेधाज्ञा जारी छ ।

निषेधाज्ञाको मौका छोपेर यातायात व्यवसायीले अत्यधिक भाडा असुल्न थालेपछि आर्थिक वर्षको मसान्तमा विकास योजनाको भुक्तानी लिनेदेखि सामान किनमेल तथा उपचारका लागि बजारसम्म आउने सर्वसाधारण ठूलो परेका छन् ।

सल्यानबाट दाङका लागि छुट्ने सार्वजनिक यातायात तथा जिल्लाका प्रायः ग्रामीण क्षेत्रमा चल्ने सवारीसाधनले पुरानो रेटभन्दा दोब्बर बढी भाडा लिने गरेको एक स्थानीयले बताए ।

‘विभिन्न कामका लागि बजारसम्म आउनुपर्छ । तर, लामो समयसम्म गाडी बन्द भएको, सडक कच्ची भएको, यात्रु नपाइनेलगायत वहाना बनाएर व्यवसायीले महँगो भाडा लिने गरेका छन्,’ उनले भने ।

यस्तै, निजी नम्बर प्लेटका गाडीले यात्रु ओसारपसार गर्ने र मनपरी भाडा असुलिरहेको पनि गुनासो बढेको छ । ती सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु राख्ने गरेको गुनासा पनि उत्तिकै आएका छन् ।

गाडीमा स्वास्थ्य मापदण्डका नियम  पालना गर्नुपर्ने भए पनि कमैले मात्र त्यसलाई पछ्याएको पाइन्छ ।

नमस्ते सल्यान यातायात प्रालिका अध्यक्ष डम्बरसिंह तिरुवाले अहिले भाडादर वृद्धिका विषयमा कुनै निर्णय नभएको र पुरानै भाडादरमा सवारीसाधन सञ्चालन भइरहेको बताए ।
‘यदि कुनै गाडीले निषेधाज्ञा अगाडिकै भाडाभन्दा बढी लिएको पाइए कारबाही गर्छौं । हामीले मनपरी भाडा असुल नगर्न निर्देशन दिएका छौं,’ उनले भने ।

जिल्लामा सञ्चालित सवारीसाधनमा मनपरी भाडा असुल भइरहेको विषयमा सल्यान प्रहरीले थप सक्रियता बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायब उपरीक्षक गोविन्द थापाले यात्रुसँग तोकिएको भाडादरभन्दा बढी भाडा लिने गाडी व्यवसायीलाई कारबाही गरिने बताए ।

‘सोमबार मात्रै यात्रुसँग बढी भाडा लिने भ्यानलाई श्रीनगरबाट नियन्त्रणमा लिएर कारबाही गरेका छौं,’ उनले भने ।

उनले तोकिएको भाडाभन्दा एक रुपैयाँ पनि बढी लिएको पाइए कारबाही गरिने उनको भनाइ छ । ‘हामीले नियमित रूपमा निरीक्षण गर्न थालेका छौं । विशेषतः मुख्य बजार तथा जिल्ला भित्रिने नाका कपुरकोट र सिमखोलीमा कडाइ गरेका छौं,’ उनले भने ।

सार्वजनिक सवारीसाधन होस् वा निजी । तोकिएभन्दा बढी भाडा लिए तुरुन्तै प्रहरीमा खबर गर्न उनको आग्रह छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)