ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानका दर्जनौं बस्ती बाढीपहिरोको जोखिममा

२०७८ सावन, ४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानका दर्जनौं बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार जिल्लाका तीन नगरपालिका र सात गाउँपालिकाका अधिकांश बस्ती बाढी पहिरोको जोखिममा रहेका हुन् । जिल्ला विपद् व्यवस्थापन समिति सल्यानले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाको तल्लो भेगका बस्तीमा बाढीको जोखिम बढेको छ ।

कालिमाटी गाउँपालिकाको काप्रेचौर, कालिमाटी काल्चे, कालिमाटी रामपुर क्षेत्र बाढीको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले जानकारी दिइन् । उनका अनुसार जिल्लाको माथिल्लो क्षेत्रमा भने पहिरोको जोखिम छ । भौगोलिक भूबनोट तथा भिरालो जमीनका कारण माथिल्लो क्षेत्र पहिरोको उच्च जोखिममा रहेको उनको भनाइ छ ।

यस्तै कपुरकोट गाउँपालिकाका धनवाङ र सिनवाङ क्षेत्र, छत्रेश्वरी गाउँपालिकाको कोर्वाङ झिम्पे क्षेत्र, सिद्धकुमाख गाउँपालिकाको सिद्धेश्वरी क्षेत्र, बागचौर नगरपालिकाको बाफुखोला क्षेत्र, कुमाख गाउँपालिकाका मर्मपरिकाँडा, स्वीकोट, कालागाउँ क्षेत्र र बन्गाड कुपिण्डे नगरपालिकाका निगालचुँला, घाँजरीपिपल लगायत क्षेत्र पहिरोको उच्च जोखिममा छन् ।

प्रमुख जिल्ला अधिकारी होमागाईंले वर्षात् भइरहेको र बाढीपहिरोको जोखिमको समय नजिकिँदै गएकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरेर अगाडि बढेको बताइन् । ‘प्राविधिक जनशक्ति र स्रोतसाधनको अभाव छ, हामीले योजना तयार पार्ने हो, यसको कार्यान्वयनका लागि मूलतः स्थानीय तह नै सक्रिय बन्नुपर्छ,’ उनले भनिन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाका प्रत्येक पालिकाले विपद् प्रतिकार्य योजना तयार पारेर अगाडि बढ्ने निर्णय गरेको छ । यस्तै प्रत्येक वडामा १६ प्रकारका विपद् रोकथाम, नियन्त्रण तथा उद्धार सम्बन्धी सामग्रीको व्यवस्था गर्ने र सबै क्षेत्रसँगको समन्वय र सहकार्यमार्फत अगाडि बढ्ने निर्णय गरेको छ ।

बाढीपहिरोको उच्च जोखिममा परेका बस्ती स्थानान्तरण गरिनुपर्ने आवाज समेत उठ्ने गरेको छ । केही घरपरिवार उच्च जोखिममा भए पनि सरकारले बस्ती स्थानान्तरणका लागि कुनै पहल नगरेको सरोकारवालाको भनाइ छ । गाउँ–गाउँमा डोजरमार्फत सडक खन्दा पनि पहिरोको जोखिम बढेको छ । बाढीपहिरोले जिल्लामा वर्षेनि करोडौंको क्षति हुने गरेको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)