ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजार खुलेपछि उद्योगको उत्पादन बढ्यो

अहिले ५० प्रतिशत मात्र उत्पादन, भदौपछि उद्योगहरू नाफामा जाने

२०७८ सावन, ५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । कोरोना महामारीको कारण बजार बन्द हुँदा उत्पादन खुम्चिएका पूर्वका उद्योगहरूले अहिले आफ्नो उद्योगको उत्पादन ५० प्रतिशतसम्म पुर्‍याएका छन् । बजार खुले पनि अहिले खाद्यान्न उद्योग बाहेकका उत्पादनका लागि यो ‘अफ सिजन’ हो ।

लकडाउनका बेला २० देखि ४० प्रतिशतमा उत्पादन सीमित गरेका उद्योगहरूले अहिले बजार खुलेपछि उत्पादन बढाएका छन् । तर अहिलेको उत्पादन र बजारको अवस्था हेर्दा उद्योगहरू लगानी र अम्दानी बराबरीको अवस्थामा छन् । ५० प्रतिशत बजार र ५० प्रतिशत उत्पादन ‘ब्रेक इभन’को अवस्था हो । उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले खाद्य बाहेकका उद्योगको सिजन भदौपछि मात्र भएकाले दशैंतिर उद्योगको उत्पादन ७० प्रतिशत माथि पुग्ने अनुमान गरे ।

‘कोरोनाको तेस्रो लहर आएन अथवा सरकारले मजदूर र उद्योगका कर्मचारीलाई शतप्रतिशत भ्याक्सिन लगायो भने उत्पादन ७० प्रतिशतभन्दा माथि हुन्छ, जुन उद्योगले केही रकम नाफा गर्ने अवस्था हो,’ उनले भने, ‘वस्तुको जति धेरै उत्पादन गरेर विक्री गर्न सक्यो, उद्योगहरूले उति नै नाफा कमाउने हुन तर उद्योगको उत्पादन ५० प्रतिशतमा सीमित भयो भने खर्च मात्रै धान्न सक्ने अवस्था बन्छ ।’

सरकारले उद्योगमा काम गर्ने मजदूर र कर्मचारीलाई मात्रै पनि कोरोना विरुद्धको खोप लगाए उद्योगहरूले आफ्नो उत्पादनमा सुधार गर्ने र उत्पादनमा सुधार आएपछि बेरोजगार भएका मजदूरले स्वतः उद्योगमा काम पाउने अवस्था सृजना हुने प्याकुरेलले बताए । उनले भने, ‘मुलकको अर्थतन्त्र माथि उठाउने हो भने उद्योगमा काम गर्ने मजदूर र कर्मचारीलाई तत्काल खोपको व्यवस्था गरिनुपर्छ ।’

मोरङ व्यापार संघका पूर्वअध्यक्ष तथा गुडलाइफ फुडका सञ्चालक महेश जाजूले लकडाउनमा बन्द भएका उद्योग सञ्चालनमा आएको बताए । लकडाउन खुलेपछि बजारमा चहलपहल देखिन थालेकाले अहिले बजारको अवस्था सुधार हुँदै गएको र खाद्यपदार्थ उत्पादन गर्ने उद्योगको उत्पादन ७० प्रतिशतभन्दा माथि रहेको उनको भनाइ छ ।

बजारको अभाव कारण देखाउँदै सुनसरी मोरङ औद्योगिक कोरिडोरको गुडलाइफ फुडले बिस्कुटको उत्पादन बन्द गरेको थियो । त्यसैगरी झापाको मगमग चाउचाउले पनि उद्योग बन्द गरेको थियो । तर लकडाउन खुकुलो हुँदै गएपछि अहिले दुवै उद्योगले उत्पादन शुरू गरेका छन् । जाजू भन्छन् ‘बिस्कुट लगायत खाद्यवस्तु खुला बोर्डरको कारण भारतीय बजार जोगवनीबाट खुलेआम आइरहेको छ ।’ यस कारण उद्योगको उत्पादन ९५ प्रतिशत पुग्नुपर्ने अहिलेको अवस्थामा ७० प्रतिशतमा खुम्चनु परेको उनले बताए । अघिल्लो लकडाउनका बेला जस्तो अहिले सीमामा कडाइ नभएकाले भारतीय खाद्यवस्तु भन्सार छलेर भित्रिरहेको छ । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा ठूला साना गरी ५०० उद्योग छन्, जहाँ दैनिक ५० हजार मजदूर काम गर्छन् । अहिले सबै उद्योगहरू सञ्चालनमा आएका छन् । यसअघि रोजगारी गुमाएका २० हजार मजदूर विस्तारै उद्योगमा काम गर्न फर्कन थालेका छन् । सबैले पूर्णरूपमा काम पाउन उद्योगको उत्पादन ९० प्रतिशत पुग्नुपर्ने जाजूले बताए ।

मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजालले उद्योग चले पनि अहिले बजारको माग घटेकाले उत्पादनमा सीमितता रहेको बताए । अब बजारको सिजन भदौपछि आउने भएकाले उद्योगले पूर्ण उत्पादन थाल्ने बेलासम्म बेरोजगार मजदूरको समस्या पनि समाधान हुने उनको भनाइ छ । सरकारले उद्योगमा काम गर्ने मजदूर र कर्मचारीलाई कोरोना विरुद्धको खोप यथाशीघ्र लगाएर उद्योगमा ढुक्कले काम गर्ने वातावरण बनाउनुपर्ने माग उनले गरे । ‘कोरोनाको खोप लगाएपछि मजदूर र कर्मचारीमा पनि आत्मविश्वास बढ्छ,’ उनले भने, ‘उत्पादन बढेसँगै मुलुकको अर्थतन्त्र पनि चलायमान हुन्छ ।’

भारतमा कोरोनाको तेस्रो लहर चल्नेबित्तिकै खुला सिमानाको कारण नेपालमा पनि सोझै आइपुग्ने भएकाले त्यसका लागि सतर्कता अपनाएर सरकारले अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्ने रिजालले बताए । समस्या आउनुअगावै समाधानका उपाय खोज्दा मुलुकले बेहोर्ने मानवीय तथा आर्थिक क्षति कम हुने धारणा उनले राखे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)