ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धनकुटा कुशेटारका युवाको लोभलाग्दो सामूहिक बाख्रापालन

२०७८ सावन, ८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

धनकुटा । पछिल्लो समय धनकुटामा बाख्रापालन गर्ने युवाको संख्या बढेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ कुशेटारका स्थानीय युवाले सामूहिक बाख्रापालन गरेर आम्दानी लिइरहेका छन् ।

पहिले एकल स्थानीय जातका बाख्रा पाल्दै आएका युवा किसानले अहिले सामूहिक रूपमै उन्नत जातका बाख्रापालन गरिरहेका हुन् ।

कुशेटारका २१ घरपरिवारले सामूहिक बाख्रापालन व्यवसाय गर्दै आएका छन् । २१ घरपरिवारले भिन्दाभिन्दै कृषि फार्म दर्ता गरेर उन्नत जातका बाख्रापालनका साथै रातमाटे घाँसी बोयर बाख्रापालन समूह पनि गठन गरेका छन् ।

बाख्रापालन व्यवसायमा अधिकांश युवा वैदेशिक रोजगारबाट फर्केका छन् । वैदेशिक रोजगारमा भन्दा राम्रो कमाइ भइरहेको उनीहरु बताउँछन् ।

कुशेटारका देवी नेम्बाङ अचेल प्रायः बाख्राको खोरमै भेटिन्छन् । बाख्रालाई अन्न, दानापानी तथा घाँसको व्यवस्था गर्नु उनको दैनिकी हो ।

उनीसहित गाउँका २१ परिवारले रातमाटे घाँसी बोयर बाख्रापालन समूह नामक सामूहिक बाख्रा समूह खोलेपछि उनीहरुको दैनिकी बाख्रा फार्ममै बित्ने गरेको छ ।

नेम्बाङको खोरमा ६० वटाभन्दा बढी बाख्रा छन् । गाउँमै व्यावसायिक बन्न बाख्रापालन रोजेको उनी बताउँछन् ।

चितवन र मकवानपुरबाट उन्नत बोयर जातका बाख्रा खरिद गरेर ल्याएको नेम्बाङले जानकारी दिए । बाख्रापालनका लागि उनले ६० लाख रुपैयाँभन्दा बढीको लगानी भएको छ ।
२२ वर्षसम्म शिक्षण पेसामा आबद्ध नेम्बाङले माछापालन, लेयर्स कुखुरा र सुँगुरपालन पनि गरेको बताउँछन् । माछापालन र सुँगुरपालन व्यवसायमा सोचेजस्तो आम्दानी नभएपछि बाख्रापालनमा लागेको उनले बताए ।

६ वर्षअघि सुरु गरेको बाख्रापालनकै लागि ३५ रोपनी जग्गामा घाँस खेती गरिरहेको नेम्बाङले सुनाए । नेम्बाङले खरी, जमुनापार हुँदै बोयर बाख्रापालन गरिरहेका छन् ।

‘बाख्रापालनबाट परिणाम आइसक्ने बेला भएको छैन’, नेम्बाङले भने, ‘२१ घरमा बाख्रापालन गरिरहेका छौं । समूहमा मिलेर काम गरेका छौं । राम्रो परिणाम आउनेमा विश्वस्त छौं ।’ नेम्बाङले युवा पुस्तालाई बाख्रापालनमा सक्रिय बनाउन आवश्यक प्राविधिक सहयोगसमेत गर्ने बताए ।

कुशेटारकै ४३ वर्षीय अशोक याख्याको फर्ममा अहिले ४० वटा बाख्रा छन् । उनी बाख्रापालनमा लागेको ७ वर्ष भएको छ ।

रोजगारीको सिलसिलामा ९ वर्ष मलेसिया, बहराइन डेढ वर्ष काम गरेर याख्याले गाउँ फर्केपछि सुँगुरपालन थालेका छन् । उनले बाख्रापालनका लागि ४ रोपनी जग्गामा घाँस खेती गरिरहेका छन् ।

बाख्रापालन व्यवसायबाट वार्षिक साढे ५ लाख रुपैयाँभन्दा बढी कमाइ भइरहेको याख्खाले बताए । उनले बाख्रापालनका लागि खोरमा मात्रै ३ लाख लगानी गरेका छन् ।

‘विदेशमा अर्काको अधीनमा बस्नुपर्छ तर यहाँ छुट्टै आनन्द छ’, याख्खाले भने, ‘अब यही पेसालाई निरन्तरता दिँदै परिवारसँग रमाएर बस्ने हो ।’ पुख्र्यौली बाख्रापालन गर्दै आएका कुशेटारका स्थानीयले यो पेसालाई व्यावसायिक बनाएका छन् । २१ परिवारले प्रतिपरिवार मासिक ५० हजारदेखि ३ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।
विदेश जानेलाई रोक्न समूहमा बाख्रापालन सुरु गरेको र सरकारी अनुदानभन्दा आफैं सक्षम बन्नेतर्फ लागेको रातमाटे घाँसी बोयर बाख्रापालन समूहका अध्यक्ष झप्टमान अधिकारीले बताए ।

अहिले २१ घरका बाख्रा फार्ममा करिब १ हजारभन्दा बाख्रा पालिँदै आएको छ ।

कुशेटारका केही युवा विदेश जाने सोचलाई त्यागेर र विदेशबाट फर्केर बाख्रापालनमा लागेको समूहका अध्यक्ष अधिकारीले जानकारी दिए ।

बाख्रापालनका लागि आर्थिक अवस्था कमजोर भएकालाई समूहका एक सदस्यबाट १० देखि १५ हजार रुपैयाँ सहयोग गरेर खोर बनाउने काममा सहयोग गर्दै आएका उनको भनाइ छ ।

कुशेटारका बाख्रा फार्ममा अहिले ३ लाख रुपैयाँसम्म पर्ने बोयर बोका छन् । २१ घरले बाख्रापालनका लागि करिब २ करोड रुपैयाँभन्दा बढी लगानी गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)